काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुसँगै देशका अधिकांश ठाउँमा चिसो बढेको छ ।
काठमाडौं उपत्यकामा आज (बुधबार) यो वर्षकै सबैभन्दा बढि चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ९ बजे मापन गरेअनुसार काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्रीमा झरेको छ ।
यसअघि काठमाडौंमा ३ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री थियो ।
तराईका जिल्लाहरुको न्यूनतम र अतिकतम तापक्रम पनि ओरालो लागेको छ ।
बुधबार औसतमा न्यूनतम तापक्रम ८ डिग्री र अधिकतम तापक्रम १६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । बाक्सो हुस्सुका कारण अझै तापक्रम घट्न सक्ने आंकलन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला काठमाडौं उपत्यका, मध्य र पश्चिम पहाडी क्षेत्र र तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण आज देशका धेरैजसो ठाउँमा थोरै समय मात्रै घाम लाग्न सक्ने महाशाखाको अनुमान छ ।
आज ६ बजेर ५२ मिनेटमा सुर्योदय भएको थियो भने ५ बजेर १६ मिनेटमा सुर्यास्त हुनेछ ।
तराईका जिल्लाहरुमा बाक्लो हुस्सु २४ घण्टासम्म कायम रहे शीतलहर पर्न सक्ने मौसमविद् राजु प्रधानांगले नेपाल समयलाई जानकारी दिए । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि उनले बताए ।
उनका अनुसार वर्षाको सम्भावना भने तत्कालै देखिएको छैन् ।
यस्ताे हुनेछ आगामी तीन दिनको मौसम
पौष ९ गते (बुधवार)
दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।
राति : देशभर सामान्यतया मौसम सफा रहनेछ।
पौष १० गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।
राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।
पौष ११ गते (शुक्रबार )
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।
राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।