काठमाडौं- क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज नेपालमा पनि ख्रीष्टमस दिवस मनाइँदैछ ।
क्रिश्चियन धर्मालम्बीले देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाउँदैछन् ।
यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।
काठमडौं उपत्यकालगायत विभिन्न शहरहरुमा पनि विभिन्न कार्यक्रम गरेर ख्रीष्टमस डे मनाइँदैछ। पछिल्लो केहिवर्ष यता ख्रीष्टमस मनाउनेहरुको जमात बढ्दै गएको छ।
येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।
विसं २०६२–०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।