नयाँ दिल्ली- डिसेम्बर २४, सन् १९९९ मा आजकै दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आईसी ८१४ विमान अपहरण भएको थियो।
अपहरणमा पाँच पाकिस्तानी आतंकवादी संलग्न थिए। अपहरणकारीको माग मसुद अजहर, उमर सेख र मुस्ताक अहमद जरगरलाई रिहा गर्नुपर्ने थियो।
त्रिभुवन विमानस्थलबाट १७० यात्रु लिएर उडेकाे विमान अपहरणकारीले अमृतसर, लाहोर हुँदै अफगानिस्तानको कान्धाहारमा पुर्याएका थिए।
अपहरणकारीलाई मुक्त गराउने झन्डै एक सातासम्मको प्रयास विफल भएपछि भारतले आफ्नो मुलुककाे जेलमा रहेका तीनैजना आतंकवादीलाई रिहा गरी सबै यात्रु सकुशल मुक्त गरेको थियो।
सीबीआईले यस प्रकरणमा १० जना संलग्न रहेको आरोप लगाएको थियो। तीमध्ये पाँच जना अपहरणकारीसहित सातजना पाकिस्तानमा रहेको सीबीआईको ठहर थियो।
विमान अपहरणको २० वर्ष पुग्दा उतिबेला रिहा भएका तीन आतंकवादी अजहर, सेख र जरगर कहाँ छन् त ? उनीहरू पछिल्लो समयमा के गर्दै छन् ?
मसुद अजहर, जैस-ए-मोहम्मद
रिहा भएपछि अजहरले फेरि आफ्नो आतंकवादी संगठन जैस-ए- मोहम्मदलाई थप सशक्त बनाए। उनले आतंकवादी हमला सुरु गरे।
२००१ डिसेम्बर १३ मा उनकै संगठनले भारतीय संसदमा हमला गर्यो। त्यसपछि उनकै अगुवाइमा २००८ मा मुम्बईमा आक्रमण भयो भने २०१६ मा पठानकोट हवाई सुरक्षा शिविरमा हमला भयो।
जैसले २०१९ काे फेब्रुअरीमा अर्को ठूलो आतंकवादी हमला गर्यो। जम्मु कश्मीरको पुलवामा भएको आत्मघाती आक्रमणमा १ आक्रमणसहित ४० जनाको ज्यान गएको थियो।
अजहरलाई सन् १९९४ मा कश्मीरबाट गिरफ्तार गरिएको थियो। उनलाई पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको समर्थन रहेको विश्वास गरिन्छ।
उनी आईएसआईका लागि निकै महत्त्वपूर्ण थिए। किनकि इन्डियन एयरलाइन्सको विमान अपहरणअघि पनि उनको रिहाइका लागि पटकपटक प्रयास भएका थिए।
यहाँसम्म कि जुलाई १९९५ मा अल फरान नामक एक कश्मीरी इस्लामी आतंकवादी समूहले कश्मीरको पहलगागबाट ६ विदेशी पर्यटक अपहरण गरेको थियो, ती पर्यटकको मुक्तिका लागि पनि अजहरकै रिहाइको माग गरिएको थियो।
धेरैतिरको दबाबपछि संयुक्त राष्ट्रसंघले अजहरलाई विश्व आतंकवादीको सूचीमा राखेको छ। अहिले उनी मिर्गौलाको गम्भीर समस्यामा रहेको बताइन्छ । उनको पाकिस्तानस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ।
उमर सेख, हरकत-उल-अन्सार
उमर सेख वाल स्ट्रिट जर्नलका अमेरिकी पत्रकार पर्ल डेनियलको हत्या आरोपित हुन्। डेनियलको हत्या सन् २००२ मा भएको थियो। पत्रकार डेनियल पाकिस्तान र अफगानिस्तानमा रहेर आतंककारी संगठन अलकायदाको लगानीबारे अनुसन्धान गर्दै थिए।
सेखले इस्लामिक धर्म गुरुका साथ भेट गराउने प्रलोभनमा पत्रकार डेनियललाई अपहरण गरेको आरोप छ। उनीमाथि अमेरिकी गुप्तचर भएको आरोप थियो।
सेखले डेनियल रिहाइका लागि पाकिस्तानमा प्रतिबन्धित एफ १६ लडाकु विमान अमेरिका फिर्ता लानुपर्ने माग गरेका थिए। तर त्यो माग पूरा नभएपछि पत्रकार डेनियललाई नौ दिनसम्म बन्दी बनाएर हत्या गरिएको थियो ।
बेलायतमा जन्मिएका सेख लन्डन स्कुल अफ इकोनोमिक्सका विद्यार्थी थिए। त्यहीँबाट उनी कट्टरपन्थी इस्लामिक संगठनमा आबद्ध भए। उनले जजैस-ए-मोहम्मद, अल-कायदा र तालिबानसहित धेरै आतंकवादी संगठनमा काम गरेको विश्वास गरिन्छ।
सेखलाई पहिलोपटक १९९४ मा उत्तर प्रदेशको सहारनपुरबाट गिरफ्तार गरिएको थियो। त्यतिबेला उनले अजहर र हरकत-उल-मुजाहिद्दिनका प्रमुख कमान्डर सज्जाद अफगानीलाई रिहाइको माग गर्दै चारजना पश्चिमी पर्यटकलाई अपहरण गरेका थिए।
यद्यपि उनको प्रयास विफल भयो। सेख आफैं गिरफ्तारमा परे भने चारैजनाको सकुशल मुक्त गरिएको थियो।
सेखलाई २००२ को फेब्रुअरी १२ मा पाकिस्तानको लाहोरबाट गिरफ्तार गरिएको थियो । उनी अहिले पत्रकार डेनियलको हत्या आरोपमा पाकिस्तानी जेलमा छन्। उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
मुस्ताक अहमद जरगर, अल-उमर मुजाहिद्दिन
जम्मु कश्मीर लिबरेसन फ्रन्टमा आबद्ध मुस्ताक अहमद जरगर सन् १९९२ देखि जेलमा थिए। भारतीय गुप्तचर स्रोतका अनुसार १९९९ मा रिहाइपछि उनले मुजफ्फराबादमा अल-उमर मुजाहिद्दीनको गतिविधि पुनः सुरु गरेको विश्वास छ।
उनले कश्मीरमा युद्धका लागि युवालाई भर्ती गर्ने, प्रशिक्षण दिने काम गर्दै आएका छन्। जुन २०१९ मा कश्मीरको अनन्तनागमा भएको आतंकवादी हमलामा उनको संलग्नता रहेको आशंका छ।
त्यहाँ भएको ग्रिनेड आक्रमणमा ५ जना सुरक्षाकर्मीको ज्यान गएको थियो। यस्तै उनले सन् २०१७ मा कश्मीर उपत्याकामा भएका विभिन्न आक्रमणको जिम्मेवारी लिएका थिए।
उनले डेक्कन क्रनिकलका संवाददातालाई फोन गरेर भनेका थिए, 'म अल-उमर मुजाहिद्दीन प्रमुख मुस्ताक जरगर हुँ। म डोडा (पूर्वी जम्मुको एक जिल्ला) मा छु। मेरो संगठन र जैस-ए-मोहम्मदका तर्फबाट कुरा गर्छु। हामीले हमलाहरू सँगै गरेका छौं र हामी त्यस्ता थप आक्रमणको योजना बनाइरहेका छौं। हामी विश्वास गर्छौं कि भारतले हिंसाको भाषा मात्र बुझ्दछ। सशस्त्र संघर्ष एक मात्र तरिका हो किनभने यसले हाम्रो कश्मीरलाई भारतीयबाट स्वतन्त्र पार्न सक्छ ।’
पेसाले तामाको धातु सम्बन्धी काम गर्ने जरगर श्रीनगरमा हुर्किएका थिए। उनले सन् १९९८ मा हतियार चलाउन प्रशिक्षण लिएका थिए।
त्यसपछि उनी पाकिस्तान गए । सन् १९९० मा उनले जेकेएलएफबाट अलग भएर अल-उमर मुजाहिदीनको स्थापना गरे। यो पनि कश्मीरलाई पाकिस्तानमा विलय गराउन सहयोग गर्ने संगठन हो।
(दिप्रिन्ट डट इनबाट भावानुवाद)