जनकपुरधाम– ठीक एक महिनाअघि मंसिर ७ गते कानुन तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माया गरेर कानुन मन्त्रालयको जिम्मेवारी दिएको हुनसक्ने प्रतिक्रिया दिएका थिए ।
यादवले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीको रहेको बताउँदै कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने बताएका थिए । भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री ओलीले यादवले सम्हालेको स्वास्थ्य मन्त्रालय खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । त्यतिमात्र नभएर समाजवादी पार्टीको भागमा परेको स्वास्थ्य राज्यमन्त्रीसमेत खोसिएको थियो ।
सत्ता साझेदार दललाई जानकारी नै नदिई मन्त्रीमण्डल फेरबदल भएपछि समाजवादी पार्टीले सरकार छोड्न सक्ने आँकलन गरिएको थियो । तर, ती सबै आँकलनलाई झुटो सावित गर्दै अध्यक्ष यादवले मन्त्रीमण्डल फेरबदल हुँदैमा सरकार किन छोड्नुपर्यो भन्दै कानुन मन्त्रालयको जिम्मेवारी पाउँदा संविधान संशोधन गर्न थप सहज भएको प्रतिक्रिया दिएका थिए ।
कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेको ठीक एक महिनापछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो । उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादवले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा लगेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेलगत्तै सरकारबाट बाहिरिएको घोषणा गरे । संविधान संशोधन राजनीतिक विषय रहेकोले सबै दलको सहमतिमा प्रस्ताव आउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले यादवको प्रस्ताव अस्वीकार गरेका थिए ।
संविधान संशोधनको माग पूरा नभएको बहाना बनाउँदै समाजवादी पार्टीले सरकार छोड्ने कुरा अपेक्षित नै थियो भन्छन्– विश्लेषकहरु । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल फेरबदल गर्दा स्वयं समाजवादी पार्टीका एकजना केन्द्रीय सदस्यले संविधान संशोधनको प्रस्ताव लग्ने र अस्वीकृत भएपछि सरकार छोड्नुपर्ने सुझाव अध्यक्ष यादवलाई दिएका थिए । सोही योजनाअनुरुप उपेन्द्र यादव सरकारबाट बाहिरिएको विश्लेषकहरुको बुझाइ छ।
दुईबुँदेमा अलमलिएको मधेश केन्द्रीत दल
पछिल्लो पटक राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेकपाबीच भएको दुईबुँदे सहमति समाजवादी पार्टीलाई घाँडो बनेपछि सरकारबाट उसको बहिर्गमन भएको सहजै अनुमान लगाउन सकिन्छ । यसअघि नेकपा नेतृत्वको सरकारमा सहभागी हुँदा उपेन्द्र यादवले दुईबुँदे समझदारी गरेका थिए भने अहिले राजपा र नेकपाबीच पनि दुई बुँदे सहमति भएको छ ।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभ नेकपा र राजपाबीचको नयाँ मित्रता सह्य हुन नसकेपछि समाजवादी पार्टी सरकार छोड्न बाध्य भएको बताउँछन् ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रिमण्डल हेरफेर गरेर संकेत दिनुभएको थियो तर उपेन्द्रजी सरकार छोड्न मात्रुभएन,’ लाभ भन्छन्, ‘नेकपाको राजपाप्रतिको आकर्षणका कारण उहाँ विकर्षणमा पर्नुभयो । सरकार छोड्न केही कारण त चाहियो, त्यसैले संविधान संशोधन प्रस्तावलाई उहाँले मुद्दा बनाएको जस्तो लाग्छ ।’ परिणाम अपेक्षित थियो भन्दै उनले मधेश आन्दोलनमा लागेर ज्यान गुमाएका र घाइते भएका परिवारले आज के सोच्ने भन्दै प्रश्न गरेका छन् । ‘जुनसुकै पार्टी आएपनि यसै गर्ने गरेको छ, सत्तामोहमा उनीहरु फस्दै आएका छन् । यस्तो रवैयाले मधेशी जनतालाई निराश बनाएको छ,’ लाभले भने ।
प्रदेश २ को समीकरणमा पर्न सक्छ प्रभाव
बोलचालसमेत बन्द रहेको नेकपा र राजपाबीच बढ्दै गएको सानिध्यता तथा संघीय सरकारबाट उपेन्द्रको बहिर्गमनको प्रभाव प्रदेश २ मा समेत पर्न सक्ने आँकलन गर्न थालिएको छ । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा र राजपाबीच बोलचालसमेत बन्द भएको अवस्था थियो । तर एक्कासि दुई दलबीच भएको दुई बुँदे समझदारीले उनीहरु बीच सहकार्यको बाटो खोलिदिएको छ ।
प्रदेश २ मा अहिले समाजवादी नेतृत्वको सरकारमा राजपा सत्ता साझेदार रहेको छ । तर संघीय सरकारबाट समाजवादीको बहिर्गनमपछि यसको प्रभाव प्रदेश २ मा निश्चित रुपले पर्ने राजनीतिक विश्लेषक लाभ बताउँछन् ।
नेकपा र राजपाबीच भएको दुई बँुदे सहमतिपछि दुई दलबीच सहकार्यको ढोका खोलेको उनको भनाइ छ । ‘केही दिनअघिसम्म दुई दलबीच बोलचालसमेत बन्द थियो, पछिल्लो दुई बुँदे सहमतिमा सहकार्य भत्रे उल्लेख छ,’ उनले भने, ‘नेकपा र राजपाबीचको सहकार्य र समाजवादीको बहिर्गमनले प्रदेश २ मा सत्ता परिवर्तनको संकेत दिन्छ ।’ प्रदेश २ मा सत्ता समीकरणमा नयाँ परिवर्तनको सम्भावना बढेर गएको उनको भनाइ छ ।
प्रदेश २ बाहेक अन्य ६ प्रदेशमा नेकपा नेतृत्व सरकार रहेको छ । प्रदेश २ मा पनि आफ्नै पार्टीको सरकार बनाउने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको चाहना रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीको यहि चाहनाअनुसार प्रदेश २ मा सत्ता परिवर्तन हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
प्रदेश २ मा यस्तो छ अङ्कगणित
प्रदेश २ को मतअनुसार कुनै एक दलले सरकार बनाउने अवस्था छैन । प्रदेश २ अहिले सबैभन्दा ठूलो दल नेकपा रहेको छ । सरकार बनाउन ५४ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ।
नेकपाको ३२, समाजवादी पार्टीको ३०, राजपाको २५ र नेपाली कांग्रेससँग १९ प्रदेशसभा सदस्य छ । नेकपा र कांग्रेस मिले पनि सरकार बत्रे सम्भावना छैन । नेकपा र समाजवादी मिले ६२ सीट हुन्छ ।