काठमाडौं– चिनियाँ नागरिकहरुले नेपालमा बसेर चीनमा आपराधिक गतिविधि गरिरहेको विषयमा नेपाल र चीनका उच्च प्रहरी अधिकारीहरुबीच हालै चिलीमा छलफल भएको खुलेको छ। चिलीमा आयोजित इन्टरपोलको ८८ औं महासभामा दुई देशका उच्च सुरक्षा अधिकारीहरुबीच यस विषयमा छलफल भएको हो।
महासभामा सहभागी इन्टरपोलका प्रमुख डाकिन डुवानले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ नागरिकले नेपालमा बसेर चीनमा आपराधिक गतिविधि सञ्चालन गरिरहेको बारेमा जानकारी गराएका थिए।
‘चिनियाँहरुले नेपालमा बसेर चीनमा आपराधिक गतिविधि (खासगरी आर्थिक अपराध) सञ्चालन गरिरहेकाले त्यसबारे त्यहाँका इन्टरपोल प्रमुखले निगरानी राख्न हामीलाई अनुरोध गर्नुभएको थियो,’ महासभामा सहभागी नेपाल प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले भने, ‘त्यसपछि चिनियाँ नागरिकमाथि निगरानी बढाइएको हो।’
महासभाको ८८ औँ बैठक चिलीको राजधानी सान्टियागोमा गत असोज २९ देखि कात्तिक १ गतेसम्म चलेको थियो। एक महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ। जसमा आठ जना महिला छन्।
पर्यटक भिसामा नेपाल आएर गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा उनीहरु पक्राउ परेका हुन्। ‘चिनियाँहरुबाट तीन सयभन्दा बढी ल्याप्टप, मोबाइल र विभिन्न किसिमका तार बरामद भएकाले उनी हरु कुनै न कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको देखिन्छ,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीले भने, ‘उनीहरु पर्यटक भिसामा आएर घर भाडामा लिई ब्यारेकको संरचनामा बसेको पाइएको छ। हामी अनुसन्धान गर्दैछौं।’
कतिपयसँग त भिसासमेत नभएको शाहीले बताए। उनका अनुसार उनीहरु कहिले नेपाल आए भन्नेबारेमा विमानस्थलबाट जानकारी लिने काम भइरहेको छ। पक्राउ परेकाहरुले गरेको अपराधअनुसार नेपालमै कानुनी कारवाही हुने शाहीले स्पष्ट पारे। प्रहरीले उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
प्रहरीले सोमबार बूढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरेको थियो। आरोपी चिनियाँलाई अपराध अनुसन्धान महाशाखा, प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीहरुले थुप्रै सरकारी वेबसाइटहरू ह्याक गर्नुका साथै वित्तीय ठगीको योजना बनाएको प्रहरीले आशंका गरेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले ह्याकिङ तथा कम्प्युटरको माध्यमबाट विभिन्न अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए।
एकैपटक यति ठूलो संख्यामा विदेशी नागरिक पक्राउ परेको यो पहिलो पटक हो। पक्राउ पर्नेहरु एकै समूहका भएको तर नेपाल आएर विभिन्न समूहमा बाँडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गत भदौ १४ गते ६ जना चिनियाँ नागरिकलाई प्रहरीले एटीएम ह्याकिङ गरेर पैसा चोरी गर्दागर्दै पक्राउ गरेको थियो। त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ भदौ १५ गते पक्राउ परेका थिए।
उनीहरुले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए।
नेपालमा नागरिक पक्राउ परेको घटना अन्तर्राष्ट्रिय मिडियाका लागि महत्त्वपूर्ण समाचार बनेको छ। अमेरिकाका प्रतिष्ठित मिडिया हाउसहरुले समेत उक्त समाचारलाई प्राथमिकता दिएका छन्।
द न्यूयोर्क टाइम्स, द वासिङटन पोस्ट, रोयटर्स, याहु न्युज, द हिन्दू लगायतका अनलाइनमा समाचार प्रकाशित भएकाे छ।