काठमाडौं– संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले ठाडै अस्वीकार गरिदिएपछि सत्तारुढ दल समाजवादी पार्टी (नेपाल)ले सरकार छाड्नेबारे छलफल थालेकाे छ। आज (मंगलबार) पार्टीकाे पदाधिकारी बैठक बस्दैछ।
हिजोमात्रै समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष तथा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए । संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव यादवको थियो । तर, प्रधानमन्त्री ओलीले यादवको प्रस्ताव ठाडै अस्वीकार गरिदिएपछि यादव बैठकबाट बाहिरिएका थिए।
पछिल्लो समय प्रधानमन्त्री ओलीको कदमबाट चिढिएका यादवले आफ्नो पक्ष बलियो बनाउन सोमबार मन्त्रिपरिषदमा संविधान संशोधनको प्रस्ताव लगेको बताइएको छ । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेको यादवले बताउन थालेका छन्।
समाजवादीका उपमहासचिव प्रकाश अधिकारीका अनुसार आजको पदाधिकारी बैठकमा सरकार तथा पार्टीको संगठन विस्तारलगायत विषयमा छलफल हुनेछ । सोमबारको घटनाका बारेमा पनि बैठकमा कुरा उठ्ने उनले बताए।
प्रधानमन्त्री ओलीले समाजवादीलाई सरकारबाट बाहिरिन प्रष्ट संकेत गरेको पार्टीका नेताहरुको बुझाइ छ। यसअघि मन्त्रिपरिषद् हेरफेर हुँदा यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय लगिएको थियो भने समाजवादीका एक राज्यमन्त्री हटाइएका थिए । त्यतिबेला यादव नेपालमा थिएनन् । मन्त्रिपरिषद् हेरफेरमा अपमान गरिएको भन्दै तत्काल सरकार छाड्नुपर्ने दबाब पार्टीभित्रै बढेको थियो ।
उता, नेकपाले हालैमात्र संघीय संसदको विपक्षी दल राजपासँग राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि नेकपासँग मिलेर जाने तयारी यादवले गरेका थिए। तर, यादव बंगलादेश भ्रमणमा रहेका बेला राजपा–नेकपा सहमति भयो ।
प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेको, समाजवादीलाई चिढ्याइरहेको र नेकपाले राजपासँग गठबन्धन गरेको परिप्रेक्ष्यमा सरकारमा बसिरहनुको औचित्य सकिएकोले सरकारबाट बाहिरिन आवश्यक रहेको समाजवादीका नेताहरुले बताएका छन्।
सरकारमा रहने वा छोड्नेबारे समाजवादीका दुई अध्यक्ष नै विभाजित छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सरकार छाड्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव सरकार छाड्ने पक्षमा छैनन् ।संविधान संशोधनको शर्तसहित सरकारमा सहभागी भएकाले सो काम काम पूरा गर्न सरकारमा बसिराख्नुपर्ने यादव पक्षधर नेताहरुको भनाइ छ ।
तर, सोमबारको घटनालाई बेइज्जतीपूर्ण भन्दै यादव निकट एक पदाधिकारीले अब सरकारबाट बाहिरिनुको को विकल्प नरहेको बताए ।