जनावरका अंग, लागुऔषध, डलरदेखि ८८ किलो सुनसम्म तस्करी गर्न खोजेको आरोपमा चिनियाँहरू पक्राउ परेका छन् । यस्तो छ चिनियाँ नागरिकहरूको अपराध श्रृंखला-
१२ मंसिर ०७६ : ८ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए । हङकङ हुँदै उनीहरूले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए ।
२० साउन ०७६ : चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन भित्र्याउने प्रयास गरेका थिए ।
२७ चैत ०७५ : तीन चिनियाँलाई करिब साढे तीन किलो सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए ।
१२ कात्तिक ०७५ : अवैध रूपमा साटेर डलर लैजाने क्रममा पटक–पटक चिनियाँहरू पक्राउ परेका छन् । एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो ।
नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।
४ भदौ ०७५ : समुद्री घोडा तथा बाघको छालासहित तीन चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ ठमेलस्थित उनकै होटेलबाट पक्राउ परेका थिए ।
उनको साथबाट समुद्री घोडा ३०० ग्राम, यार्सागुम्बा ९० ग्राम, सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ किलो बरामद भएको थियो ।
२३ वैशाख ०७५ : चिनियाँ महिला तीन किलो सुनसहित पक्राउ परेकी थिइन् । डेढ किलो सुनसहित ६ चिनियाँ विमानस्थलमै पक्राउ परेको प्रहरी तथ्यांक छ ।
१५ माघ ०७४ : वन्यजन्तु तस्करीको प्रमुख गन्तव्य पनि चीन हुने गरेको छ । यस्तो गिरोहमा पनि चिनियाँहरूको संलग्नता बढ्दो छ । डेढ वर्षअघि अफ्रिकाको कंगोबाट टर्की हुँदै नेपाल आएका दुई चिनियाँले एक सय ६२ केजी सालकको खपटा तस्करी गर्न खोजेका थिए ।
सालकको खपटासहित चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबाओलाई प्रहरीले १५ माघ ०७४ मा विमानस्थलबाट पक्राउ गरेको थियो ।
८ पुस ०७४ : जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । चिनियाँ युवती पुकाओ हुलाईलाई जुत्ताभित्र लुकाएको करिब दुई किलो सुनसहित प्रहरीले विमानस्थलमै पक्राउ गरेको थियो ।
१३ असोज ०७४ : चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।
४ असोज ०७४ : सडकमार्गबाट समेत चिनियाँहरूले डलर तस्करी गर्दै आएका छन् । रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको प्रहरी रेकर्ड छ ।
१८ भदौ ०७४ : प्रहरीले ठमेलबाट ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके चिनियाँ भएको खुल्यो ।
७ माघ ०७३ : रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए ।
१ माघ ०७३ : दुई लाख ६० हजार अमेरिकन डलर, एक लाख १८ हजार युरो र केही अस्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँलाई प्रहरीले नागढुंगामा पक्राउ गरेको थियो । बा.१य १२३२ नम्बरको गाडीमा उनीहरू रसुवा नाका हुँदै चीन जाने क्रममा थिए ।
१५ जेठ ०७३ : लागुऔषध नियन्त्रण ब्युरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ गरेको थियो । जसमा संलग्न केही व्यक्तिहरू चीनमै रहेको खुलेको थियो । नेपालबाट चीनमा चरेस तस्करीका घटनासमेत देखिएको लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा खुलेको थियो ।
३२ जेठ ०७२ : चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परेकी थिइन् ।
१० भदौ ०७२ : विमानस्थलमा एक चिनियाँ दुई करोड २५ लाखबराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए । ७४ हजार अमेरिकी डलर, ७६ हजार युरो, ४८ हजार स्विस फ्र्यांकसहित वाङ पक्राउ परेका थिए ।
पुस ०६८ : भक्तपुरको जगातीबाट ९७ हजार दुई सय २३ डलरसहित केही चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले तातोपानी नाका हुँदै डलर तस्करीको प्रयास गरेका थिए ।
१८ असोज ०६७ : चिनियाँ नागरिक कोविन ली ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए । १० वर्षअघिदेखि नै चिनियाँहरू नेपालबाट अवैध डलरको कारोबारमा संलग्न रहेको प्रहरी तथ्यांकमा देखिन्छ ।
असोज ०६७ : तीन लाख अमेरिकन डलरसहित तीन चिनियाँलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको थियो । त्यतिवेला तातोपानी नाकामा पटकपटक ठूलो परिमाणमा डलरसहित चिनियाँहरू पक्राउ परेको प्रहरी अधिकारीहरू बताउँछन् ।
८ जेठ ०६७ : चिनियाँ नागरिकसहितको एक समूह ४६ किलो सालकको खपटासहित पक्राउ परेको थियो । बाघको हड्डीसहित १८ वर्षीय जिन वाई तथा १९ वर्षीय झाङ यु ताइनलाई परिसरले पक्राउ गरेको थियो ।
नयाँ पत्रिका दैनिकबाट ।