सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालापानीको सीमा समस्या भारतद्वारा स्वीकार, समाधान खोज्न पठायो पत्र

कालापानीको सीमा समस्या भारतद्वारा स्वीकार, समाधान खोज्न पठायो पत्र

भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौँ- भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । वार्ताको प्रस्तावसहित पठाएको नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो ।

यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा ‘कालापानी–सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको’ उल्लेख छ। वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन।

कान्तिपुरमा प्रकाशित समाचारअनुसार पत्रमा ‘आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने’ व्यहोरा छ। यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ। नेपालले पठाएको पत्रमा पनि यही संयन्त्रलाई क्रियाशील बनाएर वार्ता अघि बढाउने उल्लेख थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गर्न चाहेनन्। ‘भारतबाट पत्र आएको छ तर त्यसमा के छ भन्ने कुरा अहिले भन्न मिल्दैन,’ मन्त्री ज्ञवालीले भने। परराष्ट्र सचिव शंकर बैरागीले पनि पत्रको बारेमा विस्तृत बताउन चाहेनन्।

बैरागीले भारतबाट यो विषयमा पत्र आउनु सकारात्मक भएको बताए। मन्त्री ज्ञवालीले पत्रका विषयमा खुल्न नचाहे पनि सरकारनिकट स्रोतहरूका अनुसार यसअघि ९८ प्रतिशत सीमा टुंगो लगाइसकिएको, कालापानी र सुस्ता क्षेत्रको मात्रै सल्टाउन बाँकी रहेको प्रसंग पत्रमा छ।

‘नेपाल र भारतबीचको सिमानामा देखिएको ९८ प्रतिशत समस्या समाधान भएको छ,’ भारतले पठाएको पत्रको आशय उल्लेख गर्दै स्रोतले भन्यो, ‘कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन हामी तयार छौं।’ एक पृष्ठको उक्त पत्रमा सीमा समस्या छिट्टै टुंगो लगाउनुपर्छ भन्नेमा भारत सहमत रहेको उल्लेख छ।

‘वार्ताबाट समस्या समाधान हुनुपर्छ भनेर भारतको जवाफ आउनुलाई अर्थपूर्ण लिनुपर्छ,’ स्रोतले भन्यो, ‘कम्तीमा भारतले ती सीमामा समस्या छ भन्ने कुरा फेरि स्विकारेर वार्तामा बस्नुपर्छ भन्ने महसुस गरेको छ।’

आइतबार मात्र सरकार सञ्चालन गरिरहेको दल नेकपाको स्थायी कमिटी बैठकले लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदीपूर्वको नेपाली भूभागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सा अमान्य रहेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।

‘नेपालीे भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भूभाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ,’ नेकपाको निर्णयमा छ। 

प्रकाशित: Dec 24, 2019| 02:08 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।