काठमाडौं– प्रहरीले शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु यतै कार्यालय खोलेर गैरकानुनी गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले सोमबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले करिब ८० जना विदेशी नागरिक पक्राउ गरिएको जानकारी दिए। ‘पक्राउ परेकाहरु सबै चिनियाँ नागरिक जस्तै छन् । राहदानी हेर्ने काम भइरहेको छ,’ सुवेदीले भने, ‘विशेष अप्रेसन नै चलाएर उनीहरुलाई पक्राउ गरिएको हो।’ परिसरले सोमबार बूढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
सुवेदीका अनुसार अधिकांश चिनियाँ नागरिक भिजिट भिसामा आएर यतै काम गरेर बसेका पाइएको छ, जुन गैरकानुनी कार्य हो। चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ। सुवेदीले पक्राउ परेका विदेशी नागरिकहरुबारे अनुसन्धान भैरहेको बताए।