सोमबार, भदौ १, २०८३

पाँच महिनामा ३२ पैदल यात्रुको मृत्यु, गल्‍ती कसको ?

पछिल्लो समयमा हिँडिरहेका बटुवालाई सवारीसाधनले ठक्कर दिने क्रम बढेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– राजधानीको सुकेधारामा सोमबार बिहानै बसले ठक्कर दिँदा सडक पेटीमा हिँडिरहेकी सृष्टि पन्तको मृत्यु भयो। पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया छात्रा पन्तको ओम अस्पतालमा उपचारका क्रमका मृत्यु भएको थियो।

मंसिर २८ गते बूढानीलकण्ठ स्कुलको गेटनजिकै बा १४ च ६१२३ नम्बरको सुजुकी कारले सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दियो। उपचारका क्रममा उनको ज्यान गयो।

मंसिर ८ गते बानेश्वर चोकमा गाडीको ठक्करबाट सिभिल हस्पिटलमा कार्यरत डा. प्रभु जोशीको मृत्यु भएको थियो।

राजधानीमा सवारीसाधनको ठक्करबाट एक महिनाको अवधिमा भएका तीन प्रतिनिधि घटना हुन् यी। पछिल्लो समयमा हिँडिरहेका बटुवालाई सवारीसाधनले ठक्कर दिने क्रम बढेको छ। सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये झन्डै आधा ठक्करबाटै मृत्यु भएको देखिन्छ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार पछिल्लो करिब साढे सात वर्षमा राजधानीको मात्र तथ्यांक हेर्ने हो सवारीसाधनको ठक्करबाट मृत्यु हुने पैदल यात्रुको संख्या पाँच सय पाँच छ। यो दुर्घटनामा ज्यान गुमाउने जम्मा संख्याको करिब आधा हो। आव ०६९–०७० देखि चालु आवको मंसिर अन्तिमसम्ममा राजधानीमा सडक दुर्घटनामा एक हजार ४२ जनाको ज्यान गएको छ।

राजधानीमा आव ०६९–७० मा सवारी दुर्घटनामा एक सय ४८ जनाको मृत्यु भएकोमा ६३ जना पैदल यात्रु थिए। ०७०–०७१ मा एक सय ४३ ले ज्यान गुमाएकामा ५३ जना पैदल यात्रु थिए। यस्तै ०७१–०७२ मा एक सय ३३ ले ज्यान गुमाएकामा ५७ जना पैदल यात्रु थिए।

दुर्घटनामा ०७२–०७३ मा एक सय ६६ ले ज्यान गुमाएका थिए। तीमध्ये ६५ जना पैदल यात्रु थिए। ०७३–०७४ मा एक सय ८२ को मृत्यु भएकोमा ७९ पैदल यात्रु थिए। यसैगरी राजधानीमा ०७४–०७५ मा एक सय ९४ जनाको सवारी दुर्घटनामा ज्यान गएको थियो। तीमध्ये ६३ पैदल यात्रु थिए। ०७५–०७६ मा दुई सय ५४ को ज्यान गएकोमा ९३ पैदल यात्रु थिए। चालु आर्थिक वर्षको अहिलेसम्ममा राजधानीमा सडक दुर्घटनामा ७६ को ज्यान गएको छ। तीमध्ये ३२ पैदल यात्रु छन्।

किन हुन्छ यस्तो दुर्घटना ?

सडक दुर्घटनामा पैदल यात्रुले ज्यान गुमाउनुपर्ने कारण थुप्रै छन्। यात्रुलाई बाटो काट्नकै लागि बनाइएको जेब्राक्रसमा समेत सवारीसाधनको ठक्करबाट यात्रुको ज्यान गएका उदाहरण छन्। कतिपय सवारी चालकलाई जेब्राक्रसको कति नजिक पुग्दा गति कति हुनुपर्ने हो, पैदल यात्रु कुन ठाउँमा हुँदा रोकेर बाटो काट्न मौका दिनुपर्ने हो, कस्तो अवस्थामा अघि बढ्नुपर्ने हो जस्ता कुराको ज्ञान नभएको ट्राफिक प्रहरीहरु बताउँछन्।

सवारी तथा यातायात ऐनअनुसार जेब्रा क्रसिङमा नरोक्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना लाग्छ । तर त्यसलाई कडाइका साथ लागू गरिएको छैन। जेब्रा क्रसिङमा चालकले कसैको ज्यान लिएमा सवारी ज्यानको मुद्दा लाग्छ । उक्त मुद्दाअनुसार ८ देखि १० वर्ष कैद सजाय हुन्छ। तर, यसबारे चालक सचेत भएको पाइँदैन।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार राजधानीमा सवारी दुर्घटनामा पैदल यात्रुको ज्यान जाने घटना अधिकांश बिहानीपख हुन्छन्। जाडोयाममा शीतले सडक चिप्लो हुने, गाडीको पूरै लाइट नबल्ने, गति तीव्र हुने, यात्रुले हतारमा बाटो काट्ने, जताततैबाट बाटो काट्नेजस्ता कारणले पैदल यात्रुले सवारी दुर्घटनाबाट ज्यान गुमाउने गरेको श्रेष्ठले बताए।

फुटपाथमा पसल र सवारीसाधन पार्किङ गर्दा पैदलयात्रु मुख्य सडकमा हिँड्न बाध्य हुन्छन्। कतिपय ठाउँका फुटपाथमा निर्माण सामग्री थुपार्दा पनि पैदल यात्रु सडक किनारमा ओर्लिनुपर्ने हुन्छ ।

ट्राफिक बत्ती नहुनु, भएका पनि व्यवस्थित रुपमा चल्न नसक्नु पनि दुर्घटनाका कारण हुन्। राजधानीका कालीमाटी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, पुतलीसडक, पद्मोदय मोड, शंकरदेव क्याम्पस, कृष्ण पाउरोटी, जय नेपाल हल र दरबारमार्ग, लैनचौर अति व्यस्त सडक हुन्।

तर, यहाँ ट्राफिक लाइट छैनन्। केशरमहल, न्युरोड, भोटाहिटी, सिंहदरबार, नागस्थान र जमल लगायतका स्थानमा जडित ट्राफिक लाइटले काम दिँदैनन्। यसले एकातिर ट्राफिक व्यवस्था हम्मे पर्ने अवस्था छ भने अर्कातिर दुर्घटनाको जोखिम बढाएको छ।

प्रकाशित: Dec 23, 2019| 07:31 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।