काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
नागरिक दैनिकले यती समुहले कब्जा गरेको सरकारी जग्गाको विषयलाई मुख्य समाचार बनाएको छ भने निजगढ विमानस्थलमा रुख नकाट्न सर्वोच्चले दिएको अन्तरिम आदेशलाई पनि महत्वका साथ छापेको छ ।
कान्तिपुर दैनिकले पाँच वर्षअघिको समझदारी उल्टाउँदै सरकारले प्रहरी प्रतिष्ठानको संरचना निर्माणको डीपीआर र परामर्शदाता छान्ने अधिकार एकलौटी रुपमा भारतलाई दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
यस्तै सडक दुर्घटनाको छानविन समितिले दिएको सुझाव कार्यान्वयन नै नहुने गरेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेकोछ ।
नयाँ पत्रिकाले बिराटनगर जुटमिलमा भएको बद्मासीलाई मुख्य समाचार बनाएको छ । उसले बन्द भएको जुटमिलमा एक हजार ८१ कर्मचारी खडा गरेर ५६ करोड भुक्तानी शीर्षकमा खबर लेखेको छ ।
न्यायाधीशको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले गत असोजमा बुझाएको प्रतिवेदनप्रति सरकार मौन छ । प्रतिवेदनले तत्कालिन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न आयोगले सिफारिस गरेको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट्ले नेकपाको ८ दिन चलेको स्थायी कमिटी बैठकमा राजनीति प्रतिवेदनमाथि भएको चर्काचर्कीलाई मुख्य समाचार बनाएको छ ।
यस्तै उसले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्विकार्ने वा अस्विकृत गर्ने भन्ने अधिकार नेकपाको सचिवालयलाई दिएको विषयलाई पनि महत्वका साथ छापेको छ ।
सरकारी जग्गामा यतीको साम्राज्य
नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा (निधन भइसकेका) को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ।
शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण रिसोर्ट, नेपाल ट्रस्ट, पाथीभरालगायतको सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि लागि लिएको छ।
राजनीतिक प्रभाव र पहुँचमा पारेर यो परिवारले नारायणहिटी दरबारभित्र समेत रेस्टुरेन्ट खोल्ने प्रयत्न गरेको छ। राज्य संयन्त्रको आडमा यो परिवारले व्यापारका नाममा गरिरहेका अस्वाभाविक कार्यको अहिले आलोचना भइरहेको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जको ५२ रोपनी जग्गालाई सर्वोच्च अदालतले आङछिरिङ शेर्पालगायतको नाममा कायम गरिदिएपछि शेर्पा परिवारले त्यो ठाउँमा कोङ्दे–भ्यू रिसोर्ट प्रालि चलाइरहेको छ।
नारायणहिटी भाडामा दिन चलखेल
यतीको भगिनी कम्पनी थामसेर्कुलाई नारायणहिटी दरबार संग्रहालयको केही भाग रेस्टुरेन्ट चलाउन भाडामा दिने चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतको भनाइ छ।
नारायणहिटी दरबार संग्रहालय विस्तारको गुरुयोजनामा संग्रहालयभित्र रेस्टुरेन्ट र अन्य प्रयोजनका लागि भाडामा लिन आङछिरिङले जीवित छँदा लबिङ गर्दै आएको स्रोत बताउँछ।
‘थामसेर्कुले संग्रहालयभित्रको लमजुङ कक्ष र आसपासको केही भागमा रेस्टुरेन्ट चलाउनेगरी सरकारसँग मागेको छ,’ स्रोतले भन्यो, ‘थामसेर्कुकै जोडबलमा संग्रहालयलाई विकास समितिमा लगिएको छ, संग्रहालय विस्तारको गुरुयोजना तयार भइरहेको र त्यही विकास समितिमार्फत कार्यान्वयन गर्न खोजिएको छ।’
लमजुङ कक्षमा तत्कालीन राजपरिवारले विदेशी पाहुनालाई रात्रि भोज दिने प्रचलन थियो। थामसेर्कुले संग्रहालय अवलोकन गर्न आउनेबाट ठूलो आम्दानी हुने देखेपछि योजनाबद्ध ढंगले भाडामा लिन खोजेको स्रोतको दाबी छ।