काठमाडौं– प्रहरीले शनिबार काठमाडौंबाट चार जना विदेशी नागरिकको साथबाट बरामद गरेको ६ किलोग्राम कोकिन हङकङ लैजाने योजना अनुसार नेपाल ल्याइएकोे खुलेका छ।
लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्रिभुन अन्तराष्ट्रिय विमानस्थलबाट बेलारुसका दुई नागरिक र लाजिम्पाटस्थित एक होटेलबाट दुई जना बोलिभियाका नागरिकलाई पक्राउ गरेको थियो ।
आइतबार प्रहरीले ती चारै जना– बेलारुसका एलिना आल्डोस्याना र पाभेल भासिल्येउ तथा बोलिभियाका रोबर्टो कार्लोस र राहुल जम्बाना ओर्डोनेजलाई सार्वजनिक गरेको छ। उनीहरु चारै जना लागू औषध ओसारपसारमा संलग्न भरिया रहेको प्रहरीले जनाएको छ ।
व्यूरोका अनुसार बेलारुसका नागरिक शनिबार बेलुकी साढे आठ बजे क्याथे प्यासिफिकको फ्लाईटबाट हङकङ जाँदै गर्दा पक्राउ परेका हुन्।
व्यूरोका प्रमूख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यका अनुसार उनीहरुले कोकिनलाई सुटकेसको फल्स बटमभित्र लुकाएका थिए ।
व्यूरोका अनुसार बोलिभियन नागरिकद्वयले यो कोकिन नेपालसम्म ल्याएको खुलेको छ। सोही कोकिन हङहङ लैजान बेलारूसका नागरिक काठमाडौं आएको देखिन्छ। अनुसन्धान अनुसार बोलिभियन नागरिक ब्राजिलबाट इथियोपिया, नयाँ दिल्ली हुँदै नेपाल आइपुगेको पत्ता लागेको छ। नेपाल आएपछि उनीहरू लाजिम्पाटको होटल लष्ट गार्डेनमा बसेका थिए।
बेलारूसका २१ वर्षे ती दुई भरिया १९ डिसेम्बरमा नेपाल आएर २१ डिसेम्बरमा नेपाल छोड्दै थिए। हङकङ जाने तयारीमा रहेका बेलारूसका नागरिकबाट लागू औषध तस्करीमा संलग्न बोलिभियन नागरिकबारे खुलेको थियो ।
ब्राजिलबाट नेपाल उडेका भरिया र नेपालबाट हङकङ जान छुट्टाछुट्टै व्यक्तिको प्रयोग भएकाले नेपाललाई कोकिन ओसारपसारको ट्रान्जिट गराउने समूह सक्रिय रहेको अमात्यको अनुमान छ।
यसअघि प्रहरीले तीन किलो लागूऔषध कोकिनसहित ४१ वर्षीया बोलिभियन नागरिक ४१ वर्षीया हेरेरा आर्टेगा ओल्गालाई मंगलबार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो।
कोकिन निकै महँगो भएकाले यसको प्रयोग चीन, जापान, अमेरिका, हङकङ जस्ता मुलुकहरु मात्र हुने प्रहरीले जनाएको छ। यस पटक पक्राउ परेको कोकिनको मूल्य करिब १५ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जना विदेशी नागरिकलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।