काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी अमेरिकाको सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा उनले एमसीसीबारे भ्रममा नपर्न पनि आग्रह गरे ।
‘यो कुनै पनि मुलुकको खिलाफमा छैन । मुलुकको आर्थिक वृद्धिदर बढाउनको लागि एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुग्छ,’ उनले भने, ‘जसले यसको विरोध गरिरहेका छन्, त्यो भनेको अज्ञानताको कारण हो । एमसीसी भनेको त स्वतन्त्र बडी हो । यसमा कहाँ छ सैन्य गठबन्धन ? यो अमेरिकाको सैन्य गठबन्धन हो भन्नु काल्पनिक कुरा हो ।’
महतले सन् २००४ मा अमेरिकाको संसदले कानुन बनाएर एमसीसी पास गरेको स्पष्ट पारे । उनले भने, ‘यो अमेरिकाको विदेश मन्त्रालयको पनि अंग होइन । सन् २००२ मा मेक्सिकोमा भएको सम्मेलनमा नेपालको तर्फबाट मेरै नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थियो । गरिब मुलुकहरुको उत्थानको लागि, गरिबी निवारणको लागि यो कार्यक्रमको घोषणा भइको हो ।’