काठमाडौं– सर्लाहीमा झुटो विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंहलाई बरहथवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरहथवा नगरपालिका–२ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलेको छ।
मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काको पहलमा शनिबार बेलुका हजरियाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
सिंहले वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाइ नागरिकता लिएको खुलेको छ। भारतीय मुलका भान्जालाई नागरिकता बनाइ दिने मामा भने फरार रहेको प्रहरीले जनाएको छ।