इटहरी - चलचित्र हेर्ने दशर्क हिरोबाट प्रभावित हुन्छन्।
मध्यअमेरिकी मुलुक पानामाको राजधानी पानामा सिटीका रैथाने मारियो होयोस भने चलचित्रको हिरोबाट प्रभावित भएनन्। चलचित्रको खेलबाट प्रभावित बने। खेल थियो– स्काई डाइभिङ।
स्काई डाइभिङ अर्थात् आकाशमा हेलिकप्टर वा हवाईजहाजमा बसेर बादलमा हामफाल्दै प्यारासुट खोलेर जमिनमा सकुशल ओर्लिने साहसिक खेल।
अठार वर्षको उमेरमा सन् १९९१ मा बनेको ‘प्वाइन्ट ब्रेक’ चलचित्र हेरेपछि स्काई डाइभिङसँग होयोसको आकर्षण बढ्यो। उनले चलचित्रमा हेरेको स्काई डाइभबारे बुझ्न थालिहाले।
चलचित्र हेरेको पहिलो वर्षभित्रै उनले ‘सोलो जम्म’ गरे। एक्लै हामफाल्ने सोलो जम्प २७ सेप्टेम्बर १९९२ मा गरेका होयोसले अरु इच्छुकलाई पनि स्काई डाइभ गराउन सक्ने ‘टेन्डेम इन्स्ट्रक्टर’ बने।
होयोस गत मंसिर १ गते नेपाल आए। एक्सप्लोर हिमालय तथा एभरेस्ट स्काई डाइभले लगातार मंसिर ३ गतेदेखि ६ दिन पोखरामा आयोजना गरेको ‘पोखरा स्काई डाइभ’ को लागि उनी नेपाल आएका थिए।
नेपालमा सन् २००८ बाटै स्काई डाइभिङ गरिए पनि हालसम्म कुनै दश नेपाली जनशक्ति छैन। त्यही दक्ष जनशक्ति अभावको समयमा होसोस स्काई डाइभिङ गर्न चाहने साहसिकका लागि सहयोग गर्न नेपाल आएका थिए। होयोससँग नेपाल समयका लागि गरिएको इमेल वार्ता :

नेपाल आउने प्रसंग कसरी जुर्यो ?
मलाई साथीहरूले नेपालमा भएको स्काई डाइभिङका सुन्दर तस्बिर र भिडियो देखाए। मलाई अत्यधिक मन पर्यो।
अनि मैले टेन्डेम इन्ट्रक्टरका मेन्टर टोम नोनामसँग नेपाल जाने इच्छा जाहेर गरें।
उहाँले नेपालमा जाने उहाँको समूहको सदस्य मलाई पनि बनाउने कुरामा सहमति दिनुभयो।
तपाईंले सगरमाथा क्षेत्रको स्याङ्बोचे स्काई डाइभ नजिकबाट हेर्नुभएको छ। पोखरा स्काई डाइभ त आफैँ गर्नु र गराउनुभएको छ। नेपालको स्काई डाइभिङका सुन्दर पक्ष केके हुन्?
हाम्रो खेलसँगको अन्यन्तै सुन्दर पृष्ठभूमिका हिमाल नै सबैभन्दा सुन्दर पक्ष हुन्। हामी अग्लो उचाइमा उढ्न चाहन्छौं। त्यी सुन्दर हिमाल पनि अग्ला हुन्छन्। यत्रिमात्रै हैन, नेपालका मान्छे, खानपान र संस्कृति मैले कल्पना गरेभन्दा राम्रो पाएँ।
तपाईंले नेपाल र विदेशमा गरेर कति जनालाई स्काई डाइभ गराउनुभएको छ?
मैले नेपालमा २५ जनालाई गराए। नेपाली र भारतीयलाई गराउने मौका पाएँ। विश्वभरमा चाहिँ मैले ४ हजार ५ सय भन्दा बढीलाई स्काई डाइभिङ गराएको छु।
नेपालीहरुले कसरी टेन्डेम इन्स्ट्रकटरको कौशल लिन सक्छन्?
स्काई डाइभ लामो प्रक्रिया हो। धेरै पटक जम्म गरेपछि र करिब तीन वर्षसम्म निरन्तर अभ्यास गरेपछि मात्रै एकजना मान्छे इन्स्ट्रक्टर बन्न सक्छ।यसका लागि सिक्न सक्ने क्षमता र सिकेको कुराको निरन्तर अभ्यास गर्ने सामथ्र्य भने हुनुपर्छ।
एउटा टेन्डेम इन्स्ट्रक्टर बन्न कति समय लाग्छ? एसियामा यस्तो कोर्स गराउने स्कुल कहाँकहाँ छन्?
टेन्डेम इन्स्ट्रक्टर हुन सामान्यतया ५ सय जम्प गरेको हुनुपर्छ। कम्तीमा तीन वर्ष निरन्तर गरेको पनि हुनुपर्छ। यसका लागि २० हजार हाराहारी अमेरिकी डलर खर्च हुन्छ।
दुबईमा सबैभन्दा ठूलो स्कुल छ। जापान, कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, चीन आदि देशमा पनि स्कुल छन्।
स्काई डाइभको व्यावसायिक टेन्डेम इन्स्ट्रक्टरका लागि नेपाल र दक्षिण एसियामा कस्तो भविष्य छ?
नेपालसँगै सारा दक्षिण एसियाकै भविष्य राम्रो छ। विश्वभर राम्रा खालका स्काई डाइभका भेन्यु अन्यन्तै थोरै भएकाले नेपाल जस्तो राम्रो स्थानको भेन्युको माग राम्रो छ।