भैरहवा– ०७३ पुस ७ गते हत्या गरिएका दुर्गा तिवारीको बारेमा बनेको डकुमेन्ट्री देखाउँदा शुक्रबार देवदहको एक होटलमा सन्नाटा छायो। हलमा रहेका धेरैजसो भावुक बने। कतिपयका आँखा रसाए। मञ्चमा रहेका कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल पनि कठिनले आफूलाई सम्हालिरहेका देखिन्थे।
मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल चिन्तित देखिन्थे। उनको दायाँपट्टि पहेलो पछ्यौरा ओढेर स्व. तिवारीकी ७० वर्षिया देउरुपा तिवारी बसेकी थिइन्। सधैं खिसिक्क हाँसेर अभिवादन गर्ने भुसाल सहिद दुर्गा वसन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा भने गम्भिर मुद्रामा थिए।
सामान्यतया लामो भाषण गर्ने भुसालले त्यसदिन छोटो बोले। ‘मसँग आज बोल्ने कुरा केहि छ्रैन। जुन घटना घट्यो, त्यो राज्यको नालयकीपनले घटेको हो। उहाँहरुको त्याग र बलिदानीलाई हामी कहिल्यै भुल्दैनौं। समाजले भुल्ने छैन, राज्यले भुल्नेछैन,’ उनले भने।
अखण्ड पाँच नम्बर प्रदेश आन्दोलनको नेतृत्व गरिरहँदा ०७३ पुस ३ गते दुर्गा तिवारीको हत्या भएको थियो। त्यसैगरी वसन्त पौडेलको ०७४ पुस २१ गते देवदहमा गोली हानी हत्या भएको थियो। उनको हत्यामा संलग्न मुख्य अभियुक्त देवदहकै मनोज पुनको प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ भने अन्य व्यक्तिहरु अदालतबाट धरौटीमा छुटेका छन्। तिवारी तत्कालीन युवा संघ रुपन्देहीका अध्यक्षसमेत थिए।
दुर्गाको १३ औं दिनको पुष्यतिथिमा तत्कालीन एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देवदह आएर दुर्गाको रगतलाई खेर जान नदिने बताएका थिए। दुर्गाको मृत्युपछि उनकी श्रीमती विदेश पलायन भएकी छन्।