काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेशन एमसीसी स्वीकार गर्ने नगर्नेबारे आइतबार बस्ने स्थायी कमिटी बैठकमा निर्णय गर्ने भएको छ।
आइतबारदेखि जारी बैठकमा अधिकांश नेताहरुले एमसीसीबारे चासो राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे आइतबार बस्ने बैठकमा निर्णय गरिने आश्वासन दिएका छन्।
बैठकमा नेता भिम रावल, माधवकुमार नेपाललगायतका नेताहरुले यसबार स्पष्ट पार्न पटकपटक ध्यानाकर्षण गराएका थिए।
शनिबारको बैठकमा पनि नेताहरुले यसबारे कुरा उठाएपछि प्रचण्डले अमेरिकासँग बुझेर यसमा निर्णय लिइने आश्वासन दिएका हुन्।
नेकपा स्थायी कमिटीका नेताहरुले एमसीसी पनि अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्तर्गत नै रहेको हो भने त्यो स्वीकार गर्न नहुने भन्दै नेताहरुलाई सजक गराएका थिए।
अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीका विषयमा समेत नेकपा स्पष्ट नभए पनि उक्त रणनीतिमा नेपाललाई राख्न नहुने धारणा भित्रैदेखि बन्दै आएको छ।
पछिल्लो समय चीनसँग नजिक देखिएको नेकपा, नेकपा नेतृत्वको सरकार र नेकपाका नेताहरुले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभलाई अंगिकार गर्ने तयारी गरिरहँदा अमेरिकी रणनीतिलाई स्वीकार नगर्ने पक्षमा देखिएका छन्।
यी दुबै रणनीतिका फरक फरक उपादयता रहे पनि अमेरिका र चीनका फरक फरक रणनीतिका कारण नेताहरुसमेत विभाजित देखिएका छन्।
सरकारले एमसीसीलाई स्वीकार गर्न विधेयक नै संसदमा दर्ता गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी तत्काल स्वीकार गर्न सरकारलाई आग्रह गरेको छ।
एमसीसी अमेरिकाको सहयोगमा नेपाल सरकारले आफ्नो केही लगानी थपेर दक्षिण एसियाली क्षेत्रका लागि विद्युत प्रसारण लाइन निर्माण गर्ने परियोजना हो। यस परियोजनाका लागि अमेरिकाले ६४ अर्ब रुपैयाँ अनुदान दिनेछ।
एमसीसी अन्तर्गत अमेरिकाले दक्षिण एसियाली मुलुकहरुलाई सहयोग गर्दै आएको छ। खासगरी प्रसारण लाईन, कनेक्टीभिटी लगायतमा अमेरिकाले यो परियोजना अन्तर्गत रहेर दक्षिण एसियाली मुलुकलाई सहयोग गर्ने गरेको छ।
यो सहयोग स्वीकार गरे नेपालले आफ्नो विजुली सहजै भारतलगायतका छिमेकी देशहरुलाई बेच्न सक्नेछ।