काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्।
बैठकमा महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डले सदस्यहरुले बैठकमा उठाएका प्रश्नहरुको जवाफ दिएका हुन्।
आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए।
त्यसपछि बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा, जिज्ञासा र सुझाव पेश गरेका थिए।
शनिबारको बैठकमा सदस्यहरुका प्रश्नमा दुईजनाले जवाफ दिए पनि बैठक थप लम्बिएको छ।
आइतबार पुन बोलाइएको बैठकमा पनि अध्यक्ष र पौडेलले थप प्रष्ट पार्नेगरी शनिबारको बैठक सकिएको छ।
अधिकांश स्थायी कमिटी सदस्यहरुले सरकारका काम प्रति जनतामा छाएको निराशा, पार्टीको एकलौटी ढंगले निर्णय गर्ने प्रवृत्ति लगायतका विषयमा आवाज उठाएका थिए।
त्यस्तै नेता भिम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेशनबारे एमसीसी आपत्ति प्रकट गरेका थिए। सरकारले एमसीसीका लागि नयाँ कानुन बनाइरहेको सन्दर्भमा उक्त सहयोग अमेरिकी इन्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको भन्दै रावलले त्यस विषयमा प्रष्ट पार्न र त्यही हो भने तत्काल रोक्न माग गरेका थिए।
बैठकमा सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने विषयमा पनि छलफल भएको छ।
शनिबारको बैठकमा यसबारे औपचारिक प्रस्ताव नै पेश भएको थियो।