काठमाडौं- समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा र राजपाबीच भएको सहमतिले पार्टी एकता प्रक्रियामा असर नपार्ने दाबी गरेका छन्।
उनले पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र रहेको बताए।
काठमाडौँको डल्लुमा शनिबार भएको कार्यक्रममा सहअध्यक्ष श्रेष्ठले दुई नम्बर प्रदेशको समाजवादी–राजपा गठबन्धन सरकार सङ्घीयता कार्यान्वयनको सन्दर्भमा उदाहरणीय भएको बताउँदै प्रदेश सरकारले शत प्रतिशत समानुपातिक समावेशी हुने गरी विधेयक पारित गर्नु केन्द्र र अरु प्रदेशको सरकारलाई चुनौति भएको बताए।
उनले दुई नम्बर प्रदेशले नयाँ स्थापित हुने उद्योगहरूलाई २० वर्षसम्म कर छुट, सीमान्तकृत शिल्पी, मुस्लीम र विपन्न परिवारलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति, ’बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत दश हजार छोरीहरूका लागि शिक्षा वीमा जस्तो कार्यक्रम लोकप्रीय बनेको बताए।
नेता श्रेष्ठले आफ्नो पार्टी र राजपाबिच लामो समयदेखि एकता वार्ता भइरहेको र वार्ता निष्कर्षमा पुग्न लागेको कुराले नेकपा लगायत देशका पुराना शक्तिहरू आत्तिएको बताउँदै त्यसलाई भाँड्न दूतका रूपमा सिखण्डीहरूको प्रयोग गर्न थालेको बताए।
उनले नेकपाको चक्रब्युहमा राजपा नफस्ने विश्वास व्यक्त गर्दैै भने, ‘पार्टी एकता प्रकृयाबाट राजपा पछि हटे राष्ट्रिय राजनीतिमा उस्को औचित्यता सकिन्छ। उत्पीडित समुदायले त्यसको हिसाव किताव राख्ने छ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका सांसद श्रेष्ठले सङ्घीय समाजवादी फोरम सरकारमा सामेल हुँदाको बखत संविधान संशोधनको सम्बन्धमा भएको दुईबुँदे सम्झौता कार्यान्वयनमा नेकपा र यस्को नेतृत्व उदासीन रहे पनि त्यसको कार्यान्वयनका लागि पहल लिनु आफ्नो पार्टीको दायित्व भएको बताए।
उनले सम्झौता कार्यान्वयन नगरी धोका दिए कम्युनिष्ट पार्टीको निधारमा सदाका लागि विश्वासघातको दाग लाग्ने बताए।
सांसद श्रेष्ठले आफनो पाटी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव कानुन मन्त्री समेत भएकाले अब छिट्टै संविधान सशोधनको प्रकृया थालनी हुने भन्दै राजपाले यसमा असर पर्ने गरी कुनै काम नगर्ने विश्वास व्यक्त गरे।