सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली करिडोर निर्माण तीव्र, सडक सञ्‍जालमा जोडिँदै सिमीकोट

कर्णाली करिडोर निर्माण तीव्र, सडक सञ्‍जालमा जोडिँदै सिमीकोट

हुम्लाको सदरमुकाम सिमीकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं- हुम्लाको सदरमुकाम सिमीकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।

नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला सम्मको १ सय २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न हुने भएपछि सदरमुकाम सिमीकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने निश्चित भएको हो।

सल्लीसल्लादेखि सिमीकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ।

नेपाली सेनाका सेनानी मिलन कार्कीले सेनाले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म १ सय ११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिनुभयो।

संघीय संसद प्रनिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले गरेको स्थालगत निरिक्षणका क्रममा सेनानी कार्कीले उक्त जानकारी गराउनुभएको हो।

खुलालुदेखि हुम्लाको सिमिकोट सम्म निर्माण भइरहेको सडककोे कुल लागत २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

जसमध्ये गत आर्थिक वर्ष सम्ममा १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको र यस आर्थिक वर्षमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य सेनाले राखेको सेनानी मिलन कार्कीले बताए।

दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो सडकखण्डले तिब्रता पाएको हो। २०५६ सालमा शिलान्यास गरिएको यो कोरिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैले गर्ने तयारी गरिरहेको थियो।

तर कालिकोट र हुम्लाको अधिकांश भागमा ठुल्ठुला चट्टान र पहराका कारण ९ चैत २०७१ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको थियो।

तर अझै पनि निर्माणाधीन सडकको निर्माण धेरै खण्ड सडक विभागले निजी क्षेत्रलाई जिम्मा दिएको छ। जस अन्तर्गत सल्लीसल्लादेखि सिमीकोट सम्मको ५० किलोमिटर क्षेत्रको भागमा सडक विभागले ३ वटा ठेक्का व्यवस्थापन गरी निजी क्षेत्रलाई जिम्मा दिएको छ।

यस क्षेत्रको सिमिकोट खर्पुनाथ खण्डमा स्थानीयको विवादले निर्माणकार्य रोकिएको छ। त्यस्तै निजी क्षेत्रसँग आवस्यक दक्ष जनशक्तिको अभाव हुँदा पनि काम प्रभावित भएको छ। जसबाट सडकको निर्माण कार्यमा भने ढिलाई हुदै गएको हुम्लाका सव इन्जिनियर अभिषेक राईले बताए।

कर्णाली कोरिडोरको निर्माण तिब्र गतिमा भइरहँदा यस क्षेत्रका स्थानीयहरुमा खुशीसँगै चिन्ता पनि छ।

कतिपय ठाउँका बस्ति मासिने तथा कतिपय ठाउँमा अझैपनि सडक सञ्जाल नपुग्ने लगायतका चिन्ता स्थानीयको छ।

सिमीकोट गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णबहादुर बोहराले हिल्सा सिमीकोट सडकखण्ड अन्तर्गत सडक विभागले कसैसँग समन्वय नगरी डिपिआर तयार गरेको र स्थानीयको खेतियोग्य जमिन बस्ती समेत मासिने भएकाले आफुहरु समस्यामा परेको बताए।

निजी क्षेत्रबाट निर्माण भइरहेको कतिपय ठाउँमा चट्याङ फोर्न सेनाको सहयोग लिनुपर्ने भएकाले पनि केही ढिलाई भएको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए। उनले निजी क्षेत्रले सेनाको सहयोग लिंदा समय लाग्ने गरेको बताए।

विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खडकाले भने त्यस क्षेत्रको समस्या पहिचान गरी समाधान गर्नका लागि कर्णाली कोरिडोरको स्थालगत निरिक्षणका लागि हुम्ला पुगेको बताईन्।

उनले सडक निर्माणका क्रममा ढुवानीको समस्या, ब्लास्टिङको समस्या तथा स्थानीयको बस्ती प्रभावित हुने लगायतका समस्या रहेको पाइएको बताईन्।

यसको समस्याबारे समितिमा छलफल गरि सरोकारवालाहरु सँग समन्वयको वातावरण बनाइदिने प्रतिबद्धता व्यक्त गरिन्।

कर्णाली कोरिडोरको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ। यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिने छ।

हिमाली क्षेत्र र जटिल भूभागमा काम गर्नुपर्ने भएकाले सडक निर्माणमा थुप्रै समस्या झेल्नु परेको नेपाली सेना तथा निजी क्षेत्रका निर्माण कम्पनीहरुले बताएका छन्।

त्यसैले पनि सिमीकोटदेखि हिल्सासम्म ६ वटा ठेक्कामा विभाजन गरी सडक विभागले निर्माणकार्य अगाडि बढाउन लागेको छ।

प्रकाशित: Dec 21, 2019| 08:23 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।