काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक किनारामै सुत्ने २१५ जनालाई उद्धार गरेको छ। कामपाले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि यही पुस २ गतेसम्म उद्धार अभियानमा चलाएको थियो।
अभियान सुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो। पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौंका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।
‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका प्रदेश नं ३ का इन्चार्ज सुमन बर्तौलाले उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए। उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार कार्य सुरु गरिएको जानकारी गराए।