काठमाडौं - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-३ की सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
उपचारका क्रममा मृत्यु भएकी बालिकाकी आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाँच्न सफल छ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालको रेखदेखमा राखिएको छ। बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो। बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने काफ्लेले बताए।
दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो।