रुपन्देही- विद्यालयको रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको हाजी एनातुल्लाह सामुदायिक उच्च माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्धिन खाँसहित तीन जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विज्ञान सामग्री खरिदमा रकम हिनामिना गरेको आरोपमा अध्यक्ष जमालुद्धिन खाँ, विज्ञान शिक्षक तथा हालका प्रधानाध्यापक महमुद आलम खाँ तथा पूर्वप्रधानाध्यापक श्रीकान्त दुवेविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
शिक्षा कार्यालयबाट विज्ञान सामग्री खरिदका लागि आएको छ लाख ५० हजार रुपैयाँ मध्ये दुई लाख ८२ हजार चीन सय ८४ रुपैयाँको सामान विद्याललयमा नभएको, निकासा रकममध्ये पाँच लाख १० हजार विज्ञान सामग्रीको रकम भुक्तानी भएको तर एक लाख ४० हजारको हिसाब नदेखिएको अख्तियारले जनाएको छ।
उनीहरुले कुल चार लाख २२ हजार तीन सय ८४ रुपैयाँको सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ।