काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन केन्द्रीय समिति बैठक १० पुससम्ममा लागि स्थगित गरिएको छ। शुक्रबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक आन्तरिक सहमति नजुटेपछि स्थगित भएको हो।
पार्टी महाधिवेशन, विभाग गठन र भा्रतृ संगठनको भागबण्डाका विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न सकेको छैन।
नेता कृष्णप्रसाद सिटौला र उपसभापति विजय गच्छदारलगायतले दुवै पक्षबीच सहमति जुटाउन छलफल जारी राखेका छन्। यसअघि देउवा र पौडेल समूहबीच पटक पटक छलफल भए पनि सहमति हुन सकेको छैन।
१० गतेभित्र सहमति जुट्ने सम्भावना रहेकोले बैठक स्थगित भएको नेता दिलेन्द्रप्रसाद बडुले दाबी गरे।
मंसिर २६ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका नल्याई सभापति देउवाले विभागको संख्या बढाउने प्रस्ताव ल्याएका थिए। जसबाट चिढिएका पौडेल र सिटौला समूहले केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका छन्।