काठमडौं- पश्चिमी वायुका कारण फेरि हिमपात र वर्षा हुने भएको छ ।
मौसमपूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागका हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । आज साँझबाट हिमपात हुन सक्ने मौसमविद् विभुति पोखरेलले नेपाल समयलाई जानकारी दिइन् ।
पश्चिमका जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ, मुस्ताङ, दार्चुलालगायतका क्षेत्रमा एक साता अघि पनि भारी हिमपात भएको थियो । उक्त क्षेत्रमा फेरि हिमपात हुने सम्भावना देखिएकाे हाे ।
मौसमविद् पोखरेलका अनुसार शुक्रबार साँझ र शनिबार देशका विभिन्न भागमा हलुकादेखि मध्यम वर्षाको सम्भावन देखिएको छ । पश्चिमी वायुको असर काठमाडौं उपत्यकादेखि पश्चिमको क्षेत्रमा बढि देखिने भएकाले वर्षाको सम्भावन पनि पश्चिमी क्षेत्रमा बढि रहेको उनले बताइन् ।
वर्षा र हिमपातपछि अझै चिसो बढ्नसक्ने मौसमपूर्वानुमान महाशाखाको आंकलन छ ।
यस्तै तराईका जिल्लाहरुमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । दिनभर जसो हुस्सु र तुसारो परेको छ भने घाम लाग्न नसकेको हाम्रा संवाददाताहरुले बताएका छन् ।
आज पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने माैसमविद्हरुले बताएका छन् ।
तराईका अधिकांश ठाउँको अधिकतम तापक्रम १० देखि १२ डिग्रीमा झरेको मौसमपूर्वानुमान महाशाखाले जनाएकाे छ । अधिकतम तापक्रम बढ्न नसक्दा जमिन चिसिने र जाडो बढ्ने गर्छ ।
चिसोकै कारण सप्तरी, सिरहा, धनुषा महोत्तरी लगायतका जिल्लाका विभिन्न स्थानका विद्यालय बन्द भएका छन् । दैनिक कामकाज समेत प्रभावित भएको छ ।
यस्ताे हुनेछ आगामी तीन दिनको मौसम
पौष ४ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमी र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
साथै पश्चिम भेगका उच्च पहाडी/हिमाली भु-भागमा हल्का हिमपात र पश्चिमी पहाडी भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिम भेगका उच्च पहाडी/हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पौष ५ गते (शनिवार)
दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम भेगका उच्च पहाडी/हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति: देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
पौष ६ गते (आइतवार)
दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।