काठमाडौं- संसदको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट शुरु हुँदैछ ।
दिउँसो ४ बजे बस्ने बैठकको उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सञ्चालन गर्ने भएकी छिन् । सभामुख नभएकाले यो अधिवेशनको पहिलो कार्यसूची सभामुख चयनलाई नै बनाइएको छ।
सभामुख कृष्णबहादुर महरा बलात्कारको आरोपमा पक्राउ परेपछि सभामुख पद खाली छ । महराले यौन काण्डमा मुछिएपछि चौथो अधिवेशन सकिएको करिब १० दिनपछि पदबाट राजीनामा दिएका थिए ।
आज बस्ने बैठकको सुरुमा राष्ट्रपतिको कार्यालयबाट प्रेषित मन्त्रिमण्डल पुनर्गठन सम्बन्धी सूचना वाचन गर्ने र यस बीचमा मृत्यु भएका विभिन्न पूर्वसांसदहरुको सन्दर्भमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस्तै आज विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलगत प्रतिनिधित्वका आधारमा बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।