जनकपुरधाम- उच्च अदालत जनकपुरकी एक न्यायाधीशकी ‘पीएसओ’ बाट लुटिएको हतियार फेला पारेको छ ।
हतियार लुटेर भाग्ने पीएसओ प्रहरी जवान रनिताकुमारी केवटका प्रेमी शिवेन्द्रयादवसहित प्रहरीले हतियार फेला पारेको हो ।यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले हतियार नहराएको दाबी गरेका थिए ।
तर रनितासँग झैंझगडा भएपछि उनका प्रेमी शिवेन्द्रले सात राउण्ड गोली लोड गरिएको पेस्तौल लिएर भागेपछि प्रहरीले उनको खोजी तिव्र पारेका थियो ।
प्रहरीले हतियार लुटेर भागेका शिवेन्द्रलाई जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित रामपुरबाट विहिबार पक्राउ गरेको हो ।
यसैगरी जनकपुरधाम–१२ बस्ने यमुना मण्डलको गाईगोठमा लुकाएर राखेको अवस्थामा प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ । शिवेन्द्रले दिएको वयानअनुसार पेस्तोल र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी कार्कीले बताएका छन् ।
उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षार्थ खटाइएकी नवलपारसी घर भएकी प्रहरी जवान रनिता र उनका प्रेमी शिवेन्द्रबीच पौष १ गते जनकपुरधाम–४ भैरवचोकस्थित डेरामा झैंझगडा भएको थियो । त्यसपछि शिवेन्द्र जिल्ला प्रहरी कार्यालय धनुषाबाट रनिताले बुझेको पेस्तोल र सात राण्ड गोली लुटेर फरार भएका थिए ।
हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले न्यायाधीशकी पीएसओ रनितालाई जिल्ला प्रहरी कार्यालय झिकाएर नियन्त्रणमा लिएको थियो ।