काठमाडौं - पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। आज (बिहीबार) उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ। बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो। आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ। पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ। चिसो अझै बढ्ने क्रममा रहेको उनले बताइन्।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु/कुहिरोले जनजीवन प्रभावित भएको छ। चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन्।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनता तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। सबै भन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।