काठमाडौं- रुकुम पश्चिममा एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
रुकुम पश्चिमको आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले गत मंसिर २७ गते राति गाउँका तीन महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको छ।
घरमा पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ।
सोही राति २ बजे घरमा सुतिरहेकी ४० वर्षीया अर्की महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।
केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ।
बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएकी छिन्।
उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।