इटहरी- धरान रंगशालाबाट सोमबार पहिलो पटक धरान सहर वरिपरि हेलिकप्टर उडान भयो।
धरान होलिडेड कम्पनीको व्यवस्थापन र माउन्टेन हेलिकप्टरको सहयोगमा पहिलोपटक धरानमा व्यावसायिक हेली उडान भयो।
धरान हेलिडेजका सञ्चालक अमृत मानन्धरका अनुसार सोमबार तीन उडान भए।
यस्तै धरानबाट यही शुक्रबार र शनिबार पाथिभरा दर्शनका उडान पनि हुने मानन्धरले बताए। धरान सहरको दृृश्यावालोकन गर्न ५ हजार र पाथिभरा उडानका लागि भने ३० हजार रुपैयाँ तोकिएको छ।
पुस ५ र ६ गते पाँचथर सदरमुकाम फिदिममा पनि पहिलोपटक हेलिकप्टर उडान हुँदै छ। मनोरञ्जन र पर्यटकीय प्रयोजनका लागि माउन्टेन हेलिकप्टरसँगको सहकार्यमा तमोर भ्याली ट्राभल, टुर्स एन्ड ट्रेकिङ कम्पनीले यस्तो उडान सुरु गर्न लागेको हो।
तमोर भ्यालीका सञ्चालक दीपेन्द्र तुम्बापोले हेली टुर फन फ्लाइटदेखि धार्मिक तथा साहसिक पर्यटन केन्द्रित हुने बताए।
फिदिम परिक्रमा, पाँचथरका साधुटारदेखि तिम्बुङ पोखरी हुँदै कञ्चनजंगा आधार शिविरसम्मको यात्रा हुने तुम्बापोले बताए। फिदिम फन फ्लाइटको शुल्क ३ हजार ५ सय तोकिएको छ।
सिम्रिक एयरले पनि प्रदेश १ का तीन स्थानबाट हेली राइड गर्ने भएको छ। भेडेटार, सुकेटार र फिक्कलबाट उडान गर्न लागिएको सिम्रिक एयरका बजार व्यवस्थापक कमल गौतमले बताए। उनका अनुसार सिम्रिकले पाथीभरामा पनि उडान गर्नेछ।
भेडेटारबाट २९ हजार ९ सय ९९, फिक्कलबाट २८ हजार ८९ सय ९९ र सुकेटार विमानस्थलबाट ६ हजार ९ सय ९९ रुपैयाँमा उडान गर्ने गौतमले बताए। नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनबाट उडान हुनेछ।
महोत्सवबाट चम्केका हेली राइड
प्रदेश १ मा हेली राइडको चलन पुरानो हैन। मोरङ व्यापार संघको आयोजना भएको विराट एक्स्पोले २०७४ मा फागुन ११ देखि १७ सम्ममा हेलिकप्टर उडान ल्याएपछि यसले व्यापकता पाएको हो।
गत पुस १६ देखि १८ गतेसम्म भएको भेडेटार फुड फेस्टिभलले हेलिकप्टर उडान सुरु गर्यो। भेडेटार फुड फेस्टिभलपछि सोही वर्ष माघ २४ गतेदेखि फागुन ३ सम्म १० दिने इटहरी फुड फेस्टिबलमा पनि हेलिकप्टर उडान भयो।
पर्वतारोहण र पदयात्राको अफ सिजनमा हेली टुर
सामान्यतया प्रतिघन्टा २ लाखको चार्टड रकममा हेलिकप्टर कम्पनीले हेलिकप्टर उपलब्ध गराउने महोत्सव आयोजक तथा हेली राइड सञ्चालक बताउँछन्।
पुस, माघ र फागुन हेलिकप्टरहरुका लागि पर्वतारोहण तथा पदयात्रा आदिको उद्धारको सिजन हैन।
यो समयमा नेपाली हेलिकप्टरहरुको मुख्य व्यवस्ताको काम नभएकाले मेला, महोत्सव र धार्मिक टुरमा कम्पनी व्यस्त हुने सिम्रिक एयरका क्याप्टेन राजेन्द्र दुवाल बताउँछन्।