रुकुम- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि वडाध्यक्षले कुटपिट गरेका छन् ।
कार्यालयबाट घरतर्फ फर्कंदै गरेका केसी र चन्दलाई वडानम्बर ३ का अध्यक्ष केशरमान विकले बुधबार बेलुका करिब ७ बजे तिर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिए ।
कुटपिटका क्रममा प्रहार गरेको चेनले लागेर निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा पाँच टाका लगाइएको छ । सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।
कुटपिट गर्ने वडाध्यक्ष विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँगै कुटपिटमा संलग्न उनका भाइको खोजी भइराखेको डीएसपी खड्काले नेपाल समयलाई जानकारी दिए ।
वडाध्यक्ष विकले भनेअनुसार भुक्तानी नदिएपछि कुटपिट गरेको घाइते केसीले बताएका छन् । उनका अनुसार डोजरका मालिकसमेत रहेका वडाध्यक्षले पटक पटक आफ्नो वडाको योजना र भुक्तानीका विषयमा विवाद गर्दै आएका थिए ।
आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजु मिलाउन भन्दै वडाध्यक्ष विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीलाई दबाब दिदै आएका थिए।
वडाध्यक्षले गरेको अनियमितता नमिलाइ दिएकै कारण आफूमाथि आक्रमण गरेको केसीले बताए ।