हुम्ला- नेपाली कांग्रेस हुम्लाले सिमकोटमा हिउँमै विरोध सभाको आयोजना गरेको छ ।
स्थानीय, प्रदेश र संघीय सरकारमै दुई तिहाई बहुमत भएको वर्तमान सरकारका गतिविधिले गाउँगाउँमा बढ्दै गएको अनियमितता, स्वेच्छाचारितालाई नियन्त्रण गर्न नसकेको भन्दै कांग्रेस हुम्लाले माइनस १२ डिग्री तापक्रममा विरोधसभाको आयोजना गरेको हो ।
जिल्ला सदरमुकाम सिमकोटमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य राखेको दुइतिहाइको वर्तमान सरकारका गतिविधिले नेपालले भ्रष्टाचारमा इतिहास ब्रेक गर्ने बताए ।
‘प्रदेश सरकार मन्त्री, प्रतिनिधिसभाका सांसद् आफै एक हातले योजना दिने अर्को हातले कमिसन लिने गरेपछि देश समृद्ध बन्छ ?’ उनले प्रश्न गरे ।
कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका शाहीले भने, ‘तीनै तहका सरकारका बेथितिलाई सहन नसकेर कांग्रेसले स्थानीयस्तरमै भए पनि विरोध सभाको आयोजना गरेको हो ।’
आफ्नो सम्वोधनको अधिकांश समय कर्णाली प्रदेश सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोधमा खर्चिएका शाहीले प्रदेश सरकारका बहालवाला मन्त्री र उनका आफन्तबाट पछिल्लो समय जिल्लामा भएका गतिविधिले लामो संघर्षले स्थापित परिवर्तनप्रति नै नागरिकको आकर्षण घट्दै गएको दाबी गरे ।
कृषि, भेटनरी, घरेलु र वन कार्यालयमार्फत् गएका अनुदानका कार्यक्रममा प्रचलित कानूनी मान्यता मिचेर रकम वितरण गरेपछि त्यसबाट कुनै उपलब्धी नदेखिएको आरोप लगाएका शाहीले अनुदानकै लागि पछिल्लो समय जिल्लामा फर्म र व्यवसायको कागजी रुपमा दर्ता गराउने काम भएको उल्लेख गरे ।
‘घरमा एक घार नभएको व्यक्तिले अनुदान लिएर प्रदेशको रिपोर्टमा मौरी पालक कृषक भएको छ । गोठमा एक बाख्रा नपाल्ने व्यक्ति आज व्यवसायिक रुपमा बाख्रापालक किसान भएको छ ।’ सांसद शाहीले भने, ‘सत्ता र दुई तिहाइको शक्तिका भरमा राज्यको रकम दोहन गरेको वास्तविकतालाई आसन्न कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष कांग्रेसले स्थलगत छानबिनको माग गर्दै विरोध गर्छ ।’ उनले भने ।