काठमाडौं- अपहरणमा परेका रामेछापका २१ वर्षीय नरेश थापामगरलाई प्रहरीले करिब आठ घण्टापछि सकुशल उद्धार गरेको छ।
थापा मगरलाई अपहरण गरी बा २ च ५३५६ नम्बरको ट्याक्सीमा राखेर हेटौंडा उपमहानगरपालिका–९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएको अवस्थामा सकुशल उद्धार गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए।
थापामगरलाई बुधबार बिहान पौने ३ बजे चार जनाको समूहले हटौंडा–४ वन विज्ञान क्याम्पस गेट अगाडिबाट अपहरण गरेको खुलेको छ।
अम्लेखगञ्जबाट काठमाडौं जान लागेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा यात्रारत मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका समूहले उनलाई कुटपटि गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मगरसँगै आएका काभ्रे मण्डनदेउपुरका २८ वर्षीय सरोज सापकोटालाई समेत उनीहरुले कुटपिट गरेका थिए।
मोबाइलको कल लोकेशनका आधारमा मगरलाई ८ घण्टापछि उद्दार गर्न सफल भएको सिंहले बताए।
अपहणमा संलग्न र बन्धक बनाउन सहयोग गर्ने पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसनधान गरिरहेको सिंहले बताए।
पक्राउ पर्नेमा काठमाडौंको पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कंचनपुरको श्रीपुर–६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामा रहेको प्रहरीले जानकारी दिएको छ।