सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै दिन २१ 'घुस्याहा 'विरुद्ध मुद्दा, चौधरी तेस्रोपटक अख्तियारको फन्दामा

एकै दिन २१ 'घुस्याहा 'विरुद्ध मुद्दा, चौधरी तेस्रोपटक अख्तियारको फन्दामा

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको जग्गा व्यक्तिका नाममा गर्ने मालपोतका कर्मचारीदेखि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विभिन्न २१ जनाविरुद्ध एकै दिन मुद्दा दायर गरेको छ।

सेवाग्राहीबाट घूस लिने, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने तथा सरकारी जग्गा व्यक्तिको नाममा गर्नेहरुविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार सामुदायिक वनको जग्गा व्यक्तिका नाममा गर्ने तत्कालीन मालपोत कार्यालय धादिङका प्रमुख कुशध्वज खत्रीसमेत सात जना, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठसहित चार जना, भक्तपुर मालपोतका नायव सुब्वा र कार्यालय सहयोगी तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भ्रष्टाचारको मुद्दा लाग्नेमा १८ जना सरकारी कर्मचारी, एक शिक्षक तथा दुई जना सर्वसाधारण छन्।

वनको जग्गा मिसाएर बढाइयो ५ गुणा क्षेत्रफल

तत्कालीन मालपोत कार्यालय धादिङका प्रमुख खत्रीसमेतका कर्मचारीले सामुदायिक वनको जग्गा व्यक्तिको जग्गामा घुसाएर जग्गाको क्षेत्रफल पाँच गुणा बढाएको अख्तियारको अनुसन्धानका क्रममा खुलेको छ।

धादिङ कालु पाण्डे सडकमा जोडिएको साविक मुरलीभञ्ज्याङ्ग गाविस–२ स्थित नानु अधिकारकोे नाममा रहेको कित्ता नं. ७७९ को दुई आना जग्गामा अमरावती सामुदायिक वनको जग्गा घुसाई उक्त कित्ताको क्षेत्रफल पाँच गुणा बढाएको अख्तियारले जनाएको छ।

राष्ट्रसेवक कर्मचारी भएर पदको दुरुपयोग गर्दै सरकारी श्रेस्ता गैरकानुनी रुपमा सच्याई, नक्सासमेत बढाई सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी व्यक्तिविशेषलाई गैरकानुनी लाभ पुर्याउने कार्य भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ।

उक्त कार्यमा खत्रीसहित नायव सुब्बाहरु शम्भुनारायण राजभण्डारी, अनन्तराज सत्याल, नापी कार्यालय धादिङका तत्कालीन सर्भेक्षक विश्व कुमार बस्नेत, अमिन भीम प्रसाद श्रेष्ठ, जग्गाधनीहरु नानु र अशोक अधिकारीको संलग्नता देखिएको अख्तियारले जनाएको छ।

मालपोतका चार जना कर्मचारीहरु र जग्जा धनी नानुको हकमा जनही ९ लाख चार हजार पाँच सय रुपैयाँ बिगो मागदाबी गरिएको छ। यस्तै नापी कार्यालयका सर्भेक्षक बस्नेतलाई जग्गा धनीका पति अशोकले बिना रसिद तीन लाख ५० हजार रुपैयाँ घूसबापत दिएको पुष्टि भएकाले दुबै जनालाई सोही बराबरको रकम बिगोम मागदाबी गरिएको छ।

जसले नक्कली शैक्षिक प्रमाण पत्रबाट जागिर खाए

विद्युत् प्राधिकरणका सात कर्मचारीसहित एक शिक्षिकाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार तनहुँको जनशिशु कल्याण प्राथमिक विद्यालय जोरपोखरीकी शिक्षिका तिलमाया गुरुङले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ। गुरुङलले विहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तहको झुटा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको अनुसन्धानबाट खुलेकोले उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

यस्तै नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर नेपाल विद्युत् प्राधिकरणमा जागिर खाने धनुषाको यदुकुवा वितरण केन्द्रमा इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत रामनन्दन राउत छन्। उनले नीलकण्ठ मावि बोगटीटार रसुवाबाट कक्षा १० उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको खुलेको अख्तियारले जनाएको छ।

यस्तै कुलेश्वर वितरण केन्द्र, काठमाडौंमा हेल्पर दोस्रो तहमा कार्यरत लालु डगौराले सरस्वती मावि महुलिया उल्टाखाम कञ्चनपुरबाट कक्षा ७ उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ। विद्युत प्राधिकरणमै नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खानेमा जुनियर हेल्पर दोस्रो तहमा कार्यरत खेमप्रसाद रिमाल छन्। उनले मोती मावि झापाबाट कक्षा ९ उत्तीर्ण गरेको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अख्तियारले जनाएको छ।

विद्युत् प्राधिकरणकै जुनियर हेल्पर दोस्रो तहमा कार्यरत रामबहादुर मुक्तानले बाघभैरव मावि मकवानपुरबाट कक्षा ७ उत्तीर्ण गरेको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ। यस्तै प्राधिकरण जनसाधन विभागमा चौथो पदमा कार्यरत कृष्णकुमार भण्डारीले कपिलाकोट मावि सिन्धुलीबाट टिएसएलसी तहको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खलेको अख्तियारले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने प्राधिकरण दमक वितरण केन्द्रमा हेल्पर दोस्रो तहमा कार्यरत शमशेर तामाङले लक्ष्मी मावि धरमपुर झापाबाट कक्षा ९ उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ।

यस्तै प्राधिकरण जनसाधन विभागमा कार्यालय सहयोगी पदमा कार्यरत राधा किसन थारुले भृकुटी निमावि झापाबाट कक्षा ६ उत्तीर्ण गरेको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाने सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी गरिएको छ।

विशेष अदालतका उपरजिष्ट्रार एवम् सूचना अधिकारी इन्द्रबहादुर खड्काका अनुसार विशेष अदालतमा पर्ने मुद्दामध्ये नक्कली प्रमाण पत्रसम्बन्धी मुद्दा शतप्रतिशत ठहर हुने गरेको छ।

तेस्रो पटक अख्तियारको फन्दामा

अख्तियारले सेवाग्राहीबाट घूस लिएर फिर्ता गरेको अभियोगमा गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई मंगलबार कार्यालयबाटै नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका–१ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घूस लिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चौधरी योसहित तेस्रो पटक अख्तियारको फन्दामा परेका हुन्। यसअघि विराटनगरस्थित ९ नम्बर नापी गोश्वारा प्रमुख हुँदा पनि पक्राउ परेका उनी निलम्वनमा परेका थिए। यस्तै सुकुम्बासी समस्या समाधान आयोगको सदस्य सचिव हुँदा पनि उनी सरकारी जग्गा आफ्ना भाइ सत्यनारायण र साला विनोदकुमार देवको नाममा दर्ता गरेको आरोपमा पक्राउ परेका थिए।

उनलाई मोरङको साविक बडहरी गाविस– ९ को कित्ता नम्बर ५४९ (च) को जग्गा साला र मोरङ साविक जतुवा– १ को कित्ता नम्बर २१८८ (क) को दुई कठ्ठा जग्गा भाइको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो।

काठमाडौंको बसुन्धरास्थित ६ नम्बर नापी गोश्वारा कार्यालयको प्रमुख हुँदा पनि चौधरी विवादमा तानिएका थिए। उनले गोगनपानी–४, दैलेखको कित्ता नम्बर ९६ को १७ हजार तीन सय वर्गमिटर जग्गा व्यक्तिको नाममा पारेको भूमि सुधार मन्त्रालयको अनुसन्धानले देखाएको थियो।

मन्त्रालयले उनलाई दोषी ठहर गर्दै २०६८ असार २१ गते कानुनी कारवाही गर्न नापी विभागलाई निर्देशन दिएको थियो। तर उनी शक्ति केन्द्रबाट उन्मुक्ति पाउँदै आएका थिए। यो पटक पनि उनी घूससहित रंगेहात पक्राउ नपरेर घूस रकम फिर्ता गरेपछि पक्राउ परेका छन्।

सरकारी सेवाबाट अवकाश पाएलगत्तै उनी २०७२ पुस २४ गते गुठी संस्थानको प्रमुख प्रशासकमा नियुक्त भएका थिए। उनीबारे थप अनुसन्धान भइरहेको अख्यितारले जनाएको छ।

प्रकाशित: Dec 18, 2019| 05:00 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।