बालबालिका स्वभावैले चुलबुले र जिज्ञासु स्वभावका हुन्छन्। धेरैजसो बालबालिका शान्त रहन मान्दैनन्। उनीहरुको चुलबुले स्वभावले अभिभावक तथा शिक्षक शिक्षिका दिक्क पनि हुन्छन्। उनीहरुलाई अनुशासित बनाउन थर्काउने, पिट्ने, एक्लै राखिदिने जस्ता शारीरिक तथा मानसिक यातना दिएको पनि पाइन्छ। बालबालिकाले केही गल्ती गरेमा उनीहरुलाई अपमान गर्ने र गिज्याउने गर्छन्, जसका कारण बालबालिकाको मनोबल गिर्ने र मस्तिष्कमा असर पर्ने हुन्छ।
बालबालिकालाई शान्त र अनुशासित बनाउने नाममा अझैपनि विभिन्न सजाय दिइएको पाइन्छ। हात, खुट्टा वा शरीरका अन्य भागमा पिट्ने, लठ्ठी, डस्टर आदिले झटारो हान्ने गरेको सुन्नमा आउँछ। आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमान गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनेर हतोत्साहित पार्नेजस्ता कार्यले बालबालिका मानसिक यातनाको सिकार हुँदै आएका छन्। उनीहरु विभिन्न शारीरिक तथा मानसिक सजायको भागिदार बन्दै आएका छन्।
कतिपयले चिमोट्ने, समातेर झकझक्याउने, कुखुराको आकारमा बस्न लगाउने, कक्षा बाहिर उभ्याइदिने, कान निमोठ्ने, कान समातेर उठबस गराउने, सिस्नो लगाउने, एक खुट्टा टेकेर उभिन लगाउने जस्ता सजाय दिने गरेका छन्, जसले गर्दा बालबालिकालाई नकरात्मक असर पर्न जान्छ।
बालबालिका घर, विद्यालय, स्याहार केन्द्र, बाल गृह, खेल मैदान तथा सार्वजनिक स्थलमा समेत सजायको भागिदार बन्न पुग्छन्। उनीहरुले गरेको सानो गल्तीमा पनि सजायको भागिदार बनाइन्छ। ती स्थानहरुमा अनुशासन कायम गर्ने नाममा बालबालिका शारीरिक तथा मानसिक दण्ड एवं सजायको भागिदार हुन्छन्।
दण्डले बालबालिकालाई कस्तो असर गर्छ ?
मानिसहरु आवेशमा आएको बेलामा बालबालिकालाई विभिन्न शारीरिक तथा मानसिक सजाय दिन्छन्। यसले गर्दा बालबालिकामा नकारात्मक असरहरु देखा पर्छन्। कतिपय सजायले बालबालिकामा दीर्घकालीन असर पनि पर्न जान्छ। सामान्य भनिएको शारीरिक दण्ड सजाय भोग्नुपर्दा समेत बालबालिकाले हिनताबोध गर्छन्।
दण्डसजायको वातावरणमा हुर्किएका बालबालिकाको मस्तिष्कको विकासमा बाधा पुग्ने भएकोले बौद्धिक क्षमतामा समेत असर पर्छ। उनीहरूमा आत्मविश्वासको कमी हुने, अभिभावक वा अन्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम नरहने, नकारात्मक सोचको विकास हुने जस्ता अवस्था सिर्जना हुन सक्छ।
दण्ड सजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्छन्। त्यसैगरी, बाल्यकालमा दण्डसजायमा पारिएका व्यक्तिले जीवनमा आइपर्ने समस्याको समाधानको विकल्पका रूपमा हिंसा र बदलाको भावना लिने गरेको पाइन्छ।
दण्डसजायले बालबालिकालाई मात्र होइन, अभिभावकलाई पनि असर गर्छ। आवेशमा आएर बालबालिकालाई शारीरिक वा मानसिक दण्डसजाय दिने अभिभावक पछि पछुतो मान्छन्। दण्ड सजाय दिने व्यक्तिलाई समेत मानसिक असर पर्ने देखिन्छ।
कसरी अनुशासित बनाउने ?
बालबालिकालाई दण्ड सजाय दिएर अनुशासित बनाउन सकिँदैन। उनीहरुसँग हरेक विषयमा सञ्चार गरिरहने, कुनै पनि कुरा गर्नु र नगर्नुको कारण जानकारी गराउने, त्यसको परिणामबारे बुझाउने, सकारात्मक सीप र उत्प्रेरणा जगाउने गर्नुपर्छ। साथै बालबालिकाले गर्न खोजेको कुरामा अभिभावक तथा शिक्षकहरुले पनि साथ दिने, बालबालिकालाई नेतृत्वदायी भूमिका बहन गर्न दिने र आफूले निरीक्षण गर्ने गर्दा पनि बालबालिकामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
सजाय दिँदा गल्ती दोहोरिन सक्छ
जब बालबालिकालाई दण्डसजाय दिइन्छ, उनीहरूले त्यसबाट आफूलाई भएको पीडालाई मात्र मनन् गर्छन्। आफूले सुधार गर्नुपर्ने विषयमा उनीहरूको ध्यान जाँदैन। त्यसैले बालबालिकाले फेरि गल्ती दोहोर्याउने सम्भावना रहन्छ।
दण्डसजायको अभ्यासले बालबालिकालाई आफ्नो गल्तीको महसुस गराई सही बाटोमा लाग्न प्रेरित गराउनुको सट्टा डर र त्रासमा जिउन सिकाउँछ। उनीहरूले दण्डसजाय दिनेलाई आदर गर्न सक्दैनन्। डर र त्रासको कारण बालबालिका सही र गलत निर्णय गर्न झन् असमर्थ हुन्छन्।
के छ कानुनी व्यवस्था ?
नेपालको संविधानको धारा ३९ ले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था गरेको छ। त्यस्तो कार्य दण्डनीय हुने र पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख संविधानमा छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्दछेद ८ को दफा ६६ (घ) ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कार्यलाई बालबालिकाविरुद्धको हिंसा भनेर उल्लेख गरेको छ।
(युनिसेफको सहयोगमा)
याे पनि...