काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला सम्पन्न हुनेक्रमा आन्तरिक विवाद छताछुल्ल भएको छ।
सम्मेलनको उद्घाटनमा सहभागी भएका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समापन समारोहमा भने उपस्थित भएनन्। दुवै नेता समापनमा नआएपछि कांग्रेसभित्र यसको कारणलाई लिएर चर्चा सुरु भएको छ।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्मा भएको सम्मेलनको उद्घाटन समारोहमा खड्का र शेखर सहभागी भएका थिए। उद्घाटनका क्रममा पूर्वसभापति शेरबहादुर देउवाको दायाँबायाँ शेखर र शशांक कोइरालालाई राखिएको थियो। तर समापन समारोहमा खड्का र शेखर दुवै देखिएनन्।
सम्मेलनले आगामी १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा सम्मेलनका संयोजक शशांक कोइरालाले समन्वय गर्ने निर्णय गरेको छ। यही निर्णयपछि शशांकलाई संस्थापनइतर पक्षको नेतृत्वमा अघि बढाउने तयारीका कारण खड्का र शेखर समापनमा नआएको हुन सक्ने बहस शुरु भएको छ।
तर शशांक कोइरालाले भने शेखरले सुरुमै आफू उद्घाटन सत्रमा मात्र सहभागी हुने जानकारी दिएको बताएका छन्। शेखर र खड्कानिकट अन्य नेता तथा कार्यकर्ता भने समापन समारोहमा सहभागी भएका थिए।
यसैबीच, सम्मेलनको निर्णय सुनाउने क्रममा कांग्रेस नेताहरू विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच भएको विवाद समेत अहिले चर्चामा छ। हलबाट आएका सुझाव समेटेर तयार पारिएको निर्णयको मस्यौदा प्रस्तुत गर्ने क्रममा दुई नेताबीच मतभेद देखिएको हो।
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत भएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो। त्यसपछि निर्णयको मस्यौदामा ‘कार्यसमिति’ शब्द राख्ने विषयमा महतले आग्रह गरेपछि निधि पनि मञ्चमा पुगेका थिए। दुवै नेताबीच केहीबेर भनाभन भएपछि निधिले महतलाई मञ्चबाट हट्न आग्रह गरेका थिए। त्यसपछि माइकसमेत केहीबेर बन्द गरिएको थियो।
दुवै नेताबीच धर्मसम्बन्धी विषयमा समेत दुवै नेताबीच मतभेद देखिएको बताइएको छ। महतले निर्णयमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राख्नुपर्ने धारणा राखेका थिए भने निधिले त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए।
यही विषयमा प्रत्यक्ष प्रसारण भइरहेका बेला दुवै नेताबीच भनाभन र कागज तानातान भएको थियो। पछि महतले भने घटनालाई ठूलो विवाद नभएको बताएका छन्। उनले धर्मको विषयमा केही फरक धारणा रहे पनि अन्ततः सहमति भएको र सम्मेलनले निर्णय सर्वसम्मत रूपमा पारित गरेको बताएका छन्।
त्यस्तै समापन समारोहमा देउवाले धर्म सम्बन्धि दिएको अभिव्यक्ति बारे पनि नयाँ बहस शुरु भएको छ। देउवाले काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा हिन्दु धर्मको कुरा उठाएर अर्थपूर्ण सन्देश दिएका छन्। उनले भने, 'म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ। म पशुपतिनाथ जान्छु। पूजा गर्छु।’
देउवाले आफू हिन्दू धर्मसँगै बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्ने बताए। बौद्ध धर्मलाई संसारले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत मानिएको उनले बताए। नेपालमा प्रकृतिलाई आधार मानेर धर्म मान्ने समुदाय पनि रहेको उल्लेख गर्दै देउवाले राई र लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्ने बताए। उनले नेपाल कस्तो हुने भन्ने कुरा नेपाली जनतामा निर्भर रहने बताए।
भेलाले पारित गरेको विषय र देउवाको भाषणले काँग्रेसको संस्थापन इतर पक्षले अबको आफ्नो एजेण्डामा धर्मलाई औपचारिक रुपमा प्रवेश गराएको छ।