आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा महानगरमा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो पुर्‍याउने अभियान शुरु हुदै

पोखरा महानगरमा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो पुर्‍याउने अभियान शुरु हुदै

 |  आइतबार, साउन ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०८३

पोखरा। पोखरा महानगरपालिकाले नगर ऊर्जा योजनाअनुसार नगरवासीलाई विद्युतीय चुलो वितरण गर्ने अभियान सुरु गर्ने भएको छ। महानगरका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलोको पहुँच पुर्‍याउने लक्ष्यसहित सोमबार वडा नम्बर २२ बाट अभियान सुरु गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन्।

पहिलो चरणमा वडा नम्बर २२ का करिब २ सय परिवारलाई विद्युतीय चुलो वितरण गरिनेछ। वडा अध्यक्ष हिमलाल बरालका अनुसार कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलका बासिन्दालाई चुलो वितरण गरिनेछ। अभियानअन्तर्गत वडामा दुई हजारभन्दा बढी चुलो वितरण गर्ने लक्ष्य रहेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सुरु हुने अभियानले खाना पकाउने ग्यासको निर्भरता घटाउन र ग्यास अभावका बेला नगरवासीलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

पोखराको नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरका २५ प्रतिशत घरमा विद्युतीय चुलोको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ। जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपेली संघको सहयोगमा योजना तयार गरिएको हो। महानगरले विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य राखेको छ। हाल पोखरामा खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपी ग्यासको हिस्सा ८४.२५ प्रतिशत, दाउराको १०.२७ प्रतिशत, बायोग्यासको ५.२५ प्रतिशत र विद्युतको हिस्सा ०.२३ प्रतिशत मात्र रहेको छ।

घरायसी क्षेत्रमा एलपी ग्यासको निर्भरता ९८.४५ प्रतिशत रहेको छ। दाउराको प्रयोग वडा नम्बर २८ मा सबैभन्दा बढी ६९.४२ प्रतिशत र वडा नम्बर ९ मा सबैभन्दा कम ०.६२ प्रतिशत रहेको महानगरको तथ्यांक छ।

प्रकाशित: Aug 16, 2026| 17:53 आइतबार, साउन ३१, २०८३
प्रतिक्रिया दिनुहोस्