काठमाडौं। भारतको महाराष्ट्र खाद्य तथा औषधि प्रशासनले बलिवुड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई कारण देखाऊ नोटिस पठाएको छ।
प्रतिबन्धित विमल पान मसालाको अप्रत्यक्ष प्रचार हुने गरी विमल इलायचीको विज्ञापनमा सहभागी भएको आरोप लगाउँदै प्रशासनले १५ दिनभित्र स्पष्टीकरण मागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
समाचार संस्था पीटीआईका अनुसार तीनै जनालाई गत ११ अगस्टमा नोटिस पठाइएको हो। प्रशासनले विज्ञापनमा प्रयोग गरिएको ‘विमल’ नाम, उत्पादन र संवादबाट पान मसालाको प्रचार भएको देखिएको जनाएको छ।
महाराष्ट्रमा सुर्ती तथा निकोटिनयुक्त गुटखा र पान मसालामाथि सन् २०१२ देखि प्रतिबन्ध छ। पछिल्लो पटक गत १३ जुलाईदेखि थप एक वर्षका लागि यसको उत्पादन, भण्डारण, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनका अनुसार गत २५ मेदेखि ३१ जुलाईसम्म प्रतिबन्धित गुटखा तथा पान मसालाविरुद्ध ६५८ स्थानमा छापा मारिएको थियो। त्यस क्रममा १५ करोड ११ लाख रुपैयाँभन्दा बढीको सामग्री बरामद, ५१९ मुद्दा दर्ता र ७०१ जना पक्राउ परेका छन्। सामग्री ओसारपसारमा प्रयोग भएका ७८ सवारीसाधन पनि नियन्त्रणमा लिइएका छन्।
विमल इलायचीको विज्ञापन यसअघि पनि विवादमा परेको थियो। सन् २०१८ मा स्वास्थ्य सेवा महानिर्देशनालयले कम्पनीलाई नोटिस पठाएको थियो भने सन् २०२४ मा दिल्ली उच्च अदालतले सुर्तीविहीन उत्पादनको विज्ञापनसम्बन्धी कम्पनीको पक्षमा फैसला गरेको थियो।