काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारी शेरबहादुर देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ।
तीनदिने राष्ट्रिय भेला समापन गर्दै संस्थापनइतर पक्षले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले समन्वय गर्ने निर्णय गरेको हो।
निर्णयमा १५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जाने उल्लेख गरिएको छ।
शनिबार भएको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव र प्रतिवेदन प्रस्तुत भएका थिए। नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक र एनपी साउदले सम्बन्धित प्रतिवेदन प्रस्तुत गरेका थिए। बन्दसत्रमा प्रस्तुत सबै प्रतिवेदन सुझावसहित पारित भएका छन्।
समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफुले विशेष महाधिवेशन नमान्ने तर अदालतको आदेशलाई स्वीकार गर्ने बताएका थिए। उनले सो अवसरमा आफु हिन्दु भएको भन्दै बौद्ध धर्मप्रति पनि ठुलो सम्मान रहेको बताएका थिए। भेलामा देउवाले धर्मको कुरा गरेर काँग्रेस अब हिन्दु धर्मको पक्षमा जाने संकेत गरेको विश्लेषण गरिएको छ।
योसँगै शुक्रबार उद्घाटन गरिएको भेला आज समापन भएको छ।