काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ।
राजपाको अध्यक्ष मण्डलको आइतबार पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी पुस १५ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ।
राजपाले यसअघि यही मङ्सिर १५ गते सममको म्याद दिएकामा सबै जिल्लामा अझै कार्य सम्पन्न नभएकाले उक्त कार्यको लागि समयावधि थपेको हो।
साथै यही मङ्सिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकको बैठक हाललाई स्थागित गर्ने निर्णयसमेत गरिएको राजपाले विज्ञप्तिमार्फत जनाएको छ।
राजपाले तदर्थ समितिलाई जिल्ला अधिवेशनकै रुपमा लिएको छ। पार्टीको एकता महाधिवेशनको मिति भने अझै निश्चित भएको छैन। राजपाले छिट्टै महाधिवेशनको मिति घोषणा गर्ने जनाएको छ।