दक्षिण भारतीय राज्य केरलमा चार दिदी–बहिनी एकै दिन जन्मिए, एउटै छानोमुनि हुर्किए, सँगै खाना खाए र सबैले उस्तै खाले लुगा लगाए।
यतिमात्रै होइन, १५ वर्षसम्म सबै एउटै स्कुलमा पढ्थे र एउटै बेन्चमा बस्थे। अब यी चार दिदी–बहिनीले एकै दिन विवाह गर्ने भएका छन्।
यी चार दिदी-बहिनी र उनीहरुका एक भाइ एकै दिन जन्मिएका हुन्। यसै कारण परिवार स्थानीय मिडियामा सधैँ चर्चामा रहन्छ।
चार दिदी–बहिनी– उत्तरा, उत्तरजा, उत्तारा, उत्तामा र उनीहरुका भाइ उत्तराजनको जन्म १८ नोभेम्बर १९९५ मा भएको थियो।
अब यी चारै दिदी–बैनीले आगामी वर्ष अप्रिलमा एकैसाथ विवाह गर्ने योजना बनाएका छन्।
उत्तरा भन्छिन्, “हाम्रो घरमा अचेल सधैँ विवाहकै योजना बारे कुराकानी हुन्छ। हामी विवाहको अवसरमा एउटै रंग र डिजाइनको सिल्क साडी लगाउनेछौं ।”
उत्तरा पत्रकार हुन् र उनका हुने वाला पति पनि एक रिपोर्टर हुन्।
विवाहमा सबै समान बनाउने चाहना
यी चार दिदी-बहिनीकी आमा रमा देवीले आफ्ना छोरीहरुलाई दुलाहा खोज्न सहयोग गरेकी हुन् ।
यसै वर्षको सेप्टेम्बरमा चारैजनाको ‘कुरा छिन्ने’ समारोह तय भएको थियो। चारमध्ये तीनजना दुलाहा भने समारोहमा उपस्थित हुन पाएनन्।
उनीहरु विदेशमा काम गर्छन्। त्यसैले बिदा नमिलेका कारण आउन पाएनन् ।
अब विवाहमा भने त्यस्तो नहुने उत्तरा बताउँछिन्।
सँगसँगै खोजे जीवनसाथी
चारै दिदी-बहिनीले जीवनका उकालीओह्राली एकैसाथ भोगेका छन्। कहिलेकाहीँ एक आपसमा प्रतिस्पर्धा पनि गरेका छन् र यसै कारण आ–आफ्नो व्यक्तित्व निखारेका छन्।
उत्तरजा पढाइमा अब्बल रहिन्। उत्तमाको संगीतमा रुचिमा छ। उनी भायोलिन बजाउँछिन् । भाइ उत्तराजनको तबलामा रुचि छ।
उत्तराले फेसन डिजाइनिंगको पनि पढाइ सकिन्। उत्तराजा र उत्तामा एनेस्थेसिया टेक्निसियन हुन्।
उत्तरजाले एक वर्षअघि नै आफ्ना लागि वर खोजिसकेकी थिइन्। तर, अरु दिदी–बहिनीका लागि नभेटिएको हुँदा उनीहरुले हतार गरेनन्।
उत्तरजा भन्छिन्, “हामी सबैको विवाह एकै दिन गर्ने आमाको चाहना छ, त्यसैले हामीले एक वर्ष पर्खियौं ।”
चार दिदी–बहिनीको विवाह बेग्लाबेग्लै गर्दा खर्च धेरै हुने भएकाले पनि उनीहरुकी आमाले सबै छोरीको विवाह एकै दिन गरिदिन थालेकी हुन् । तर, विवाह एकै दिन गर्नुमा भावनात्मक कारण बढी छ।
नयाँ सुरुआत
उत्तरजाको विवाह कुवेतमा कार्यरत एनेस्थेसिया टेक्निसियन आकाशकुमारसँग हुँदै छ। त्यसअघि यी दुबै एउटै अस्पतालमा काम गर्थे। एकआपसमा परिचित थिए।
विवाहपछि उत्तरजा पतिसँगै कुवेत जाने योजना भए पनि त्यसअघि स्वदेशमै दुई वर्षको कार्य अनुभव लिन केही महिनासम्म भारतमै बस्नेछिन्।
उत्तरा र उत्तामाको पनि मध्यपूर्वमा काम गर्ने युवकहरुसँग विवाह हुँदैछ।
भाइ उत्तराजनलाई विवाहको हतार छैन। उनी वैवाहिक जीवन सुरु गर्नुअघि केही वर्ष विदेश गएर काम गर्न चाहन्छन्।
घरको नाम पञ्चरत्न
चार छोरी र एक छोराका मातापिताले आफ्नो घरको नाम ‘पञ्चरत्न’ राखे। पाँचै जना छोराछोरीले आफ्नो अध्ययन राम्रोसँग पूरा गरेकोमा उनीहरु खुसी छन्।
आमा रमा देवी सम्झिन्छिन्, “यिनीहरु जन्मँदा निकै कम तौलका थिए, धेरै जसो बिरामी भइरहन्थे।” एकैसाथ पाँच छोराछोरीलाई हुर्काउन प्रेमकुमार र रमा देवीले निकै संघर्ष गर्नुपर्यो।
उनीहरुले आफ्नो धन, उर्जा र समय सबै यिनै छोराछोरी हुर्काउन र उनीहरुको शिक्षामा खर्च गरे।
प्रेमकुमारको स्टेसनरी पसल नै परिवारको आयस्रोतको माध्यम थियो। तर व्यवसायमा घाटा भएपछि उनले सन् २००४ मा आत्महत्या गरे। त्यसपछि यो परिवारमाथि दु:ख झन् थपियो।
परिवारका एकमात्र कमाउने व्यक्ति संसारबाट बिदा भएपछि यो परिवारको कथालाई मिडियाले खुब बाहिर ल्याए। त्यसपछि सरकारले रमा देवीलाई स्थानीय ब्यांकमा रोजगारी दियो।
रमा देवी भन्छिन्, “मैले काम पाएपछि केही सजिलो भयो। छोराछोरीको खाना र शिक्षा दुबै व्यवस्था गर्न सकें ।” उनको संघर्षबाट प्रभावित छिमेकका एक चिकित्सकले उनीहरुलाई बस्न आफ्नो घर दिए ।
‘साथ छोडने छैनौं’
चारै दिदीबहिनीको विवाह स्थानीय मन्दिरमा हुने भएको छ। उनीहरुले नजिकका आफन्त र केही साथीहरुलाई मात्रै विवाहमा बोलाउनेछन्। मिडियामा पहिलेदेखि चर्चित उनीहरुको विवाहमा पत्रकारहरु पनि आउने अपेक्षा गरिएको छ।
उत्तरा भन्छिन्, “चर्चामा रहनु पनि एउटा आशीर्वाद जस्तै हो।” एकैसाथ पाँच बच्चा जन्मिनु दुर्लभ घटना भएकाले पनि मिडियाले यो परिवारप्रति सधैँ चासाे राख्दै आएको छ।
उनीहरुको जन्म, उनीहरु पहिलो पटक स्कुल गएको दिन र उनीहरुले विद्यालयस्तरको पढाइ समाप्त गरेकाे अवसरको स्थानीय मिडियाले कभर गर्दै आएका छन्।
उत्तरा भन्छिन, “विवाहपछि हामी बेग्लाबेग्लै ठाउँ गए पनि भावनात्मक रुपमा सधैँ एक साथ रहनेछौं र एकअर्कालाई सम्झिरहनेछौं ।”
-स्वामिनाथन नटराजनले बीबीसी वर्ल्ड सर्भिसका लागि लेखेको यो समाचार बीबीसी हिन्दीबाट भावानुवाद गरिएको हो।