भैरहवा– सीमामा हुने अपराध नियन्त्रण गर्न दुईदेशीय एकता जरुरी रहेकोमा सरोकारवालाले जोड दिएका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै सीमामा हुने गरेका मानव तस्करी लगायत विभिन्न खाले अपराध नियन्त्रण गर्न दुईदेशीय एकता जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखे ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सीमा अपराध दुबै देशको लागि खतराको घण्टी भएको बताएका हुन् । शुभअवसर ग्राम नेपालको आयोजनामा सीमा क्षेत्र भगवानपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले मानव बेचबिखनविरुद्ध दुवै देशको सहकार्यको लागि जोड दिएका थिए ।
कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले सीमा अपराध नियन्त्रण गर्न दुबै देश लाग्नुपर्ने बताए । उनीहरुले शिक्षाको कमीका कारण पनि सीमा अपराध बढेको तर्क गरे ।
खुल्ला सीमाका कारण प्रायः अपराधीले अहिले भिडभाड नभएको क्षेत्र रोज्ने भएकोले सबैलाई चनाखो हुन रोहिणी गाउँपालिका २ नं. वडा अध्यक्ष सरोज कुमार पाण्डेले आग्रह गरे । शुभ अवसर ग्राम नेपालले भगवानपुर सीमा क्षेत्रबाट चेलीबेटी बेचबिखन रोक्न सोही क्षेत्रमा आफ्नो निगरानी केन्द्र स्थापना गरेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, भारतीय सीमा सुरक्षा बल भगवानपुरका प्रमुख भागमल लाल, स्थानीय पारसनाथ यादव, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र, शुभ अवसर ग्राम नेपालका जिल्ला संयोजक शम्भु प्रसाद हरिजन, स्वरक्षा मानव बेचविखन विरुद्धको परियोजना गोरखपुरका श्रवण कुमार लगायतले बोलेका थिए । कार्यक्रममा भारत र नेपालतर्फका स्थानीयवासीका साथै दुवै देशका जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।