काठमाडौं– अर्घाखाँची सिमेन्टले आगामी वर्ष प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ।सिमेन्टले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा आइपीओ जारी गर्ने जानकारी दिएको हो।
'सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तयारी अगाडी बढाइरहेको छ,' कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले बताए, 'अहिले ठ्याक्कै मिति तोक्न नसकेता पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडी बढाइरहेका छौँ।'
कार्यक्रममा कम्पनीले उत्पादन गरिरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको जनाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ।
'हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,' कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले बताए।