काठमाडौं- वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको छ। क्षेत्री डिल्लीबजारस्थित घरमा आज बिहान मृत फेला परेका हुन्।
शुक्रबार साँझ आफ्नो कोठामा सुत्न गएका क्षेत्री शनिबार बिहान अबेर परिवारका सदस्यले खोजी गर्दा मृत फेला पारेका हुन्।
उनको निधनको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ।
वरिष्ठ कलाकार क्षेत्रीको शव त्रिवी शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।
उनकी श्रीमती र छोरी मलेसियामा रहेकाले उनीहरु आएपछि आइतबार दाहसंस्कार गर्ने तयारी भएको जनाइएको छ।
क्षेत्रीले शुक्रबार एउटा फिल्मका लागि स्टुडियोमा पुगेर स्वरांकन गरेका थिए। क्षेत्रीको गत वर्ष वर्ष स्वर नलीमा मासु पलाएपछि शल्यक्रिया गरिएको थियो।
केही महिनाअगाडि रिलिज चर्चित चलचित्र छ माया छपकैमा अभिनय गरेका थिए।
थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका क्षेत्रीको जिवन्त अभिनयका कारण उनलाई धेरैले सम्मान गर्ने गरेका थिए।