काठमाडौं - गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
घटनामा परी बाबु-छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको घटनामा दु:ख व्यक्त गर्दै गृहमन्त्री थापाले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा राख्दै गृहमन्त्री थापाले भनेका छन्, 'धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गयराति भएको विस्फाेटमा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ। मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाही दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु।'
धनुषामा शुक्रबार राति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारको कुसाई टोलस्थित राजेश साहको घरमा भएको बम विस्फोटमा उनीसहित र उनका छोरा आनन्द साह तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहालको निधन भएको थियो।