काठमाडौं - धनुषामा शुक्रबार राति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारको कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोटमा परि घरधनी राजेश साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै सोही घटनामा परि गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए। राजेश साहको घरको शौचालय अगाडि बम राखिएको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकसहितको टोली तयहाँ पुगेको थियो।
सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ। बम विस्फोटमा प्रहरी जवान रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको धरानमा उपचार भइरहेको छ।