राजविराज- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरी शुम्भनाथ नगरपालिका वडा १२ का अध्यक्षको रिहाईको माग गर्दै उनका समर्थकले राजविराजमा प्रदर्शन गरेका छन्।
वडाध्यक्ष लक्ष्मी साहले विवाद मिलाइदिने भन्दै एक महिलामाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि उनी अहिले प्रहरी हिरासतमा छन्।
उक्त घटनामा वडा अध्यक्ष साहसहित मोहम्मद नसिम र अनिल राय समेत पक्राउ परेका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र अन्य दुई जनालाई फसाइएको भन्दै उनीहरुका समर्थकले राजविराजमा प्रदर्शन गरेका हुन्।
यसैबीच नेपाली कांग्रेस सप्तरीले वडाध्यक्ष साह, नसिम र रायमाथि राजनीतिक पूर्वाग्रह राखी फसाइएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।
ज्ञापन पत्रमा घटनाको सुक्ष्म अध्ययन गर्दा तीनै जना निर्दोष देखिएको र उनीहरुलाई रिहा गर्न पनि माग गरिएको छ।