भैरहवा– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गौतम बुद्धको जन्मस्थल लुम्बिनी गतिका साथ बाँच्नुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुद्ध अस्ति धातुको प्रतिस्थापन गर्दै मन्त्री पोखरेलले लुम्बिनीलाई समयअनुसार विकास गर्दै लुम्बिनीलाई समृद्धितर्फ लैजानुपर्ने बताए।
‘लुम्बिनी बौद्ध विश्वविद्यालय सिंगो लुम्बिनी क्षेत्रको कुरा बुद्ध जन्मस्थल लुम्बिनी गतिका साथ बाँच्न सकेन भने सुदूरभविष्यमा बाटो देखाउन सक्दैन । यो गतिका साथ बाँच्नुपर्छ भनिरहँदा भौतिक संरचना निर्माणको कुरा मात्र गरिरहेको छैन । बाटो निर्माणको, भवन, होटल, पर्यटक कति आउँछन् भन्ने मात्रै होइन, यसका अन्तरवस्तुमा यसले अगाडि बढाउनुपर्ने खाँचो छ,’ उनले भने ।
लुम्बिनीको विकास र समृद्धिका लागि केन्द्र सरकारले के गर्नुपर्ने हो गर्ने तर पुरातन मानसिकता लिएर पहिले जस्तो केन्द्र सरकारको मुख ताक्ने काम रोकिनुपर्ने उनले बताए।
लुम्बिनी विश्वविद्यालयको आयोजनामा प्रज्ञा स्तुपा उद्घाटन एवं अस्ति धातु प्रतिस्थापन समारोहमा विश्वविद्यालयको स्तुपामा म्यानमारका प्रोफेसर सट्ट स्टुयाण्डरले विश्वविद्यालयका उपकुलपति हृदय रत्न बर्जाचार्यलाई हस्तान्ततरण गरी उपप्रधान तथा रक्षामन्त्री पोखरेलले लुम्बिनीमा दोश्रो अस्ती धातुको रुपमा प्रतिस्थापन गरेका थिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति गिरीराजमणि पोखरेलले बुद्धको जीवन र बुद्धले दिन खोज्नुभएको सन्देशको सुवास यसको वरिपरि आउनुपर्ने बताए ।
प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विश्वविद्यालयलाई मल्टी फ्याकल्टी युनिभर्सिटिको रुपमा विकसित गर्दै लैजानुपर्ने बताए ।