सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्सा पासविना बन्दैछन् प्रधानमन्त्री र मन्त्री निवासहरु

नक्सा पासविना बन्दैछन् प्रधानमन्त्री र मन्त्री निवासहरु

प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी प्रधानमन्त्री, मन्त्री निवासहरु र संसद् भवनको काम धमाधम भइरहेको छ ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्ट् र नागरिक दैनिकले विपक्षी दल कांग्रेसमा चर्किएको विवादलाई मुख्य समाचार बनाएका छन् भने कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्णले कांग्रेसमा चर्कियो विवाद शीर्षकमा खबर छापेको छ भने नागरिकले कांग्रेसमा विवाद तिब्र, असन्तुष्टद्वारा बैठक बहिष्कार शीर्षकमा खबर लेखेको छ । कान्तिपुरले कांग्रेस बैठक पौडेल पक्षद्वारा बहिष्कार शीर्षकमा खबर छापेको छ।

यस्तै नागरिकले नेकपालाई सभामुख छान्न सकस परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । आउँदो पुष ४ गतेबाट सुरु हुने हिउँदे अधिवेशनबाट सभामुख छान्नुपर्ने अवस्था रहेपनि आकांक्षी धेरै भएपछि नेकपामा सकस देखिएको हो ।

कान्तिपुर दैनिकले बझाङको खप्तड क्षेत्र विकासका लागि १२ वर्षमा ५२ करोड खर्च भएपनि गोरेटो बाटो समेत बन्न नसकेको विषयलाई मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाले भने नक्सा पासनै नगरि प्रधानमन्त्री, मन्त्री निवास र संसद् भवन धमाधम बनाएको विषयलाई मुख्य समाचा बनाएको छ ।

बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ, जसको २० प्रतिशत काम सकिएको छ ।

सिंहदरबारको पुतलीबगैँचाको १७३ रोपनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन बन्दै छ । त्यस्तै भैँसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास बन्दै छ ।

तर, प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी यी तिनै भवनको काम धमाधम भइरहेको छ । नक्सापासविना भवन बन्न थालेकोमा विरोध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरोध गरेको समाचारमा उल्लेख छ ।

यस्तै फेवाताल मिचेर होटल बन्न थाल्यो भन्दै सर्वोच्चमा मुद्दा हालेको ९ वर्षसम्म पनि विचाराधीन अवस्थामा राखिएको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । २०६७ माघ १० गते अधिवक्त खगेन्द्र सुवेदीले सर्वोच्चमा मुद्दा हालेका थिए ।

नक्सापासविना बन्दै छन् प्रधानमन्त्रीनिवास, संसद् भवन र मन्त्रीनिवास

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार बालुवाटारस्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बन्दै छ ।

तर, करिब २० प्रतिशत काम पूरा हुँदासमेत नक्सापास भएको छैन । प्रधानमन्त्रीनिवास मात्रै होइन, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास पनि नक्सापास नगरी बन्दै छन् । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै ठेकेदारले तीव्र गतिमा काम गरिरहेका छन् ।

बालुवाटारको दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ । सिंहदरबारको पुतलीबगैँचामा १७३ रोपनी ८ आनामा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन निर्माण सुरु भएको छ ।

भैँसेपाटीको १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास पनि बन्दै छ । भैँसेपाटीमा मन्त्रीबाहेक प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू पनि बस्नेछन् ।

यसरी कुल आठ अर्ब २९ करोड ११ लाख लागतमा बन्दै गरेका यी भवनको नक्सापास त भएको छैन नै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत भएको छैन । भिभिआइपी संरचनाको नक्सापास र इआइए नभएको सहरी विकास तथा भवन निर्माण विभागको निर्माण आयोजनाका प्रमुख प्रकृण तुलाधरले बताए ।

‘प्रधानमन्त्रीनिवास, संसद् भवन, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि धमाधम भवन निर्माण भइरहेका छन् । तर, अहिलेसम्म कुनै पनि भवनको नक्सापास र वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन,’ उनले भने ।

भवन ऐन, २०५५ को दफा ११ अनुसार भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले प्रचलित कानुनबमोजिम सम्बन्धित स्थानीय तहको अनुमति लिनुपर्छ ।

निर्माण पक्षले कानुनबमोजिमको दस्तुर पनि तिर्नुपर्छ । तर, विभागले निर्माणाधीन संसद् र भिभिआइपी भवनको नक्सापास गरेको छैन भने दस्तुर पनि तिरेको छैन ।

प्रकाशित: Dec 13, 2019| 01:19 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।