सुर्खेत - फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार कुल देवता मस्टोको पूजा गर्दै छ। पूजाको तयारीका लागि बस्तीदेखि सहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ।
राउटे अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन्।
राउटेले खस समुदायझैँ कुल देवताका रुपमा भुयाँर र दारेमस्टोको पूजा गर्दछन्।
यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई धुमधामका साथ मनाउँछ।
अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताए।
“भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौं”, उनले भने, “मन्त्रीज्यूले तपाइँहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौंला भन्नुभएको छ।”
हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए।
राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन्।
“प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौं”, अर्का अगुवा प्रकाश शाहीले भने, “मन्त्रीज्यूले भोको बस्नुपर्दैन भन्नुभएको छ।”
हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन्।
सुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो।
गाउँपालिकाले बजेट नभएको बताएपछि बस चढेर राउटे अगुवाहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए।
राउटे अगुवाले काठमाडौंमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए।
राउटे युवा प्रकाशले भने, “जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन। त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ।” सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च हुने उहाँको भनाइ थियो।
“सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोसी, मुुधुस, आरी पनि कसैले किन्दैनन्”, अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता सुनाए।
प्रदेश सरकारले समयमै रकम नदिए यसपालिको मस्टो पूजा पनि खल्लो हुने हो कि भन्ने चिन्ता बढेको छ। -रासस